काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ६.७ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो,चिया, जुटका सामान, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलैंचीलगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो ।
भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ । भटमासको कच्चा तेल, चामल/धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ ।
जलेश्वर, कञ्चनपुर र तातोपानीबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयलगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २२ अर्ब २ करोड बराबरको भएको थियो ।
