काठमाडौँ — विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले 'स्वेच्छिक देशनिकाला' अर्थात 'भोलुन्टरी डिपोर्टेसन' मा पठाएको छ । नेभाडाको लास भेगासमा रहेका बेला २५ वर्षीय लामेलाई अमेरिकी अध्यागमन तथा भिसासम्बन्धी समस्याका कारण तत्काल अमेरिका छाड्न लगाइएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
सेनेगलमा जन्मिएका र इटलीमा हुर्केका लामे जुन ६ मा लास भेगासस्थित ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाको भिसा अवधि नाघेको आरोपमा यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) द्वारा केही समयका लागि हिरासतमा परेका थिए । अमेरिकी अध्यागमनले लामे आफ्नो भिसा अवधिभन्दा बढी समय अमेरिकामा बसेको भन्दै उनलाई ‘स्वेच्छिक प्रस्थान’ को अनुमति दिएको पुष्टि गरेको छ ।
ट्रम्पका समर्थक बो लाउडनले लामेविरुद्ध आफूले अध्यागमन निकायमा उजुरी गरिदिएको दाबी गरेका छन् । आफूलाई देशभक्त बताउने उनले लामेको भिसा स्थितिबारे जानकारी पाएपछि अध्यागमनलाई खबर गरेको बताउँदै लामेलाई ‘फार-लेफ्ट इलिगल एलियन’ अर्थात 'उग्र कम्युनिस्ट एलियन' भनेका छन् । लाउडनले आईसीईको ‘डिटेनी लोकेटर’ भनिएको एउटा स्क्रिनसट पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए । तर त्यसको आधिकारिकतामामाथि प्रश्न उठेका छन् ।
लामेका समर्थकहरूले उनी अप्रिल ३० मा अमेरिका प्रवेश गरेको र भिसाका सर्तबारे स्पष्ट जानकारी नहुन सक्ने सम्भावना औंल्याएका छन् । अमेरिकी अध्यागमनले लाउडनको सूचनाले पक्राउमा भूमिका खेलेको हो वा होइन भन्ने विषयमा केही प्रतिक्रिया दिएको छैन । तर, लाउडनको पोस्टको समय र लामेको हिरासतबीचको संयोगले व्यापक चर्चा उत्पन्न गराएको छ । लामेलाई पक्राउ गरिएका समाचारहरू बाहिर आएको भए पनि अमेरिकी अध्यागमनले उनलाई केही समयको लागि हिरासतमा लिइएको र उनले स्वेच्छिक रूपमा देश छाडेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरू अध्यागमनको कारबाहीमा तानिएका यो पहिलो घटना भने होइन । लास भेगस नजिकैको क्यालिफोर्नियाका विभिन्न भागमा अमेरिकी अध्यागमन विरोधी प्रदर्शनहरू हिंसात्मक बनेको र नेशनल गार्डसमेत परिचालन भएको अवस्थामा लामेको पक्राउ र देश निकालाले राम्रै चर्चा पाएको न्युजविकले लेखेको छ।
लामेले कोभिड-१९ महामारीका क्रममा मानव जीवनका साना-ठूला विषयहरूलाई भिडियोमा मौन रूपमा ट्रोल गर्दै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए । उनको चुपचाप हाउभाउ र सरल शैलीले उनलाई भाइरल र सामाजिक सञ्जालको स्टार बनाएको छ । अहिले उनको टिकटकमा १६ करोडभन्दा बढी फलोअर्स छन् । उनले विल स्मिथ, टम क्रुजजस्ता सेलेब्रिटीहरूसँग काम पनि गरिसकेका छन् । यसै वर्ष युनिसेफको सद्भावना दूत पनि नियुक्त भएका छन् उनी मेट गालालगायतका कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका थिए ।
