काठमाडौँ — 'तिलगाउँ पूर्ण जोखिममा छ, पानी पर्यो भने गाउँ नै बग्ने खतरा छु', १५ दिनभित्र इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनीदेखि दक्षिणी गाजामा हमासविरुद्ध विरोध, प्रदर्शनको समाचार प्रकाशन नगर्न पत्रकारलाई धम्कीसम्मका खबर चर्चामा रहे ।
०००
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले तिलगाउँ पूर्ण जोखिममा भएको बताएका छन् । पहिलेको सानो खोल्सो, अहिले त्यो क्षेत्रमा ८०, ९० मिटर गहिरो खोला भइसकेको उनले बताए । गाउँ वरिपरिको जमिन चिराचिरा परेको छ । थप पानी पर्नेबित्तिकै गाउँ नै बग्ने खतरा छ । गाउँ बग्न अब जम्मा दुई मिटर मात्र बाँकी छ । गाउँलाई पुनर्निर्माण गरी जोगाउने अवस्था नै छैन । गाउँको माथि र तलबाट पहिरो जाने खतरा छ, उनले भने ।
०००
सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय र विभिन्न ठाउँमा सोधपुछ गरी प्रतिवेदन बनाएको बताए ।
०००
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले बहुमतको घमण्ड गरेको आरोप लगाएका छन् । उनले बहुमतको घमण्ड गरेर भ्रष्टाचारीलाई चोख्याउने र जनताको हितमा काम गर्नेलाई पाखा लगाउने काम गरेको समेत दाबी गरे ।
०००
इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र दाखिल गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । नियामक प्राधिकरणले हालै सार्वजनिक गरेको सूचनामा ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन्स, वेबसर्फर नेपाल लगायतका सेवा प्रदायकहरूलाई तिर्न बाँकी रकम बुझाउन भनेको हो ।
०००
इजरायल–हमास युद्धका कारण भोगमरीको सामना गरिरहेका गाजाका जनताले हमासविरुद्ध प्रदर्शन सुरु गरेका छन् । हजारौंको संख्यामा सडकमा आएर प्यालेस्टिनी नागरिकले हमासविरुद्ध नै सडक प्रदर्शन सुरु गरेका हुन् । आइतबारदेखि उनीहरुले हमासविरुद्ध विरोध जनाइरहेका छन् । यद्दपि गाजामा हमासविरुद्ध प्रदर्शन गर्नु उनीहरु आफैंका लागि खतरनाक हुने बताइएको छ ।
