बहुमतको घमण्ड गर्दा सरकारबाट सडकमा पुग्ने दाहालको चेतावनी

जेष्ठ ८, २०८२

प्रकाश बराल

Dahal's warning that the government will take to the streets while boasting of majority

बागलुङ — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले बहुमतको घमण्ड गरेको आरोप लगाएका छन् । उनले बहुमतको घमण्ड गरेर भ्रष्टाचारीलाई चोख्याउने र जनताको हितमा काम गर्नेलाई पाखा लगाउने काम गरेको समेत दाबी गरे ।

‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा बागलुङको बुर्तिवाङ र गलकोटमा आयोजित सभामा बोल्दै दाहालले बहुमतको घमण्ड गर्दा सरकारबाट सडकमा पुग्ने चेतावनी पनि दिए । उनले देशमा भ्रष्टाचार बढाउने काम वर्तमान सरकारले गरेको आरोपसमेत लगाए । ‘भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार ढाल्ने काम भयो,’ उनले भने, ‘देशीविदेशी शक्तिले माओवादीले काम गरेको देखि सहेनन् ।’ 

उनले माओवादीले गरेका राम्रा कामको प्रचार गर्न नसक्दा सरकारबाट बाहिरिनु परेको समेत बताए । निरास भएका जनतालाई आसा जगाउन पनि राजमार्गको यात्रा गरेको उनको भनाइ छ ।

दाहालले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गसमेत आफ्नो पहल र निर्णयमा भएको दाबी गरे । ‘मैले २०६५ सालमा लोकमार्ग बनाउने निर्णय गरेको थिएँ, त्यसले अहिले पहाडी क्षेत्रको विकासमा योगदान पुगेको छ,’ उनले भने, ‘कसैले आएर गफ लगायो भने नपत्याउनु होला ।’ 

उनले २०६५ को सरकारले दूरगामी निर्णय र काम थालेको पनि दाबी गरे । हिमालको फेदीमा अर्को राजमार्ग आवश्यक छ । ती राजमार्ग जोड्न उत्तर-दक्षिण करिडोर चाहिएकोले काली गण्डकी लगायतका करिडोर बनेको उनको भनाइ छ । राष्ट्रिय एकता कायम गर्ने यी पूर्वाधार अब स्तरीय बन्नुपर्ने बताए ।

अर्को प्रसंगमा उनले उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बागलुङतर्फ बनाउनु पर्ने धारणा राखे । रुकुम कि बागलुङ भन्ने भैरहेको अवस्थामा सस्तो र सहज रुपमा बनाउन सकिने र धेरै विद्युत् उत्पादन हुने भएकोले बागलुङतर्फ बनाउने काममा पहल गर्ने भन्दै स्थानीयलाई आश्वासन पनि दिए ।

यो अभियान माओवादीको मात्र नभई आम नागरिकको भइसकेको दाबीसमेत गरे । यो अभियान जस्तै पार्टी पनि सबैको आशा र भरोसाको बनाउने उनले बताए । जनतामा माओवादीप्रति आशा र भरोसा पलाएको समेत उनको दाबी छ । 

पूर्वउपप्रधानमन्त्री तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले क्रान्तिको बाटो नभुलेको बताए । उनले युगान्तकारी परिवर्तनले लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै यो लोकतन्त्र परम्परागत नभई समाजवाद उन्मुख भएको बताए । 

माओवादीले क्रान्तिको लक्ष्य दुइटा बनाएको उनले बताए । पहिलो राजनीतिक लक्ष्यमार्फत वैज्ञानिक समाजवादमा पुग्ने र दोस्रो जनताको अपेक्षाअनुसार विकास र समृद्धि ल्याउनु भएको बताए । त्यसका लागि सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर माओवादीले काम गर्ने उनले दाबी गरे । 

गरिब जनताको पक्षमा काम गर्न माओवादी सरकारले विपन्न परिवारको २० लाख रुपैयाँ सम्मको ऋण मिनाहा गरेको बताए । आर्थिक समृद्धि ल्याउन मध्यपहाडी लोकमार्ग बनाउने निर्णय माओवादीले गरेको, लोडसेडिङ अन्त्य गर्ने निर्णय गरेको, भ्रष्टाचारीलाई तह लगाउने काम गरेको दाबीसमेत गरे । 

सार्वजनिक जग्गा मिच्नेलाई समात्न खोज्दा, भ्रष्टाचारीलाई जेल हाल्न खोज्दा माओवादी सरकार ढलेको उनको दाबी छ । ‘हामीले लगाएको मुद्दा यो सरकारले फिर्ता लियो, त्यो भन्दा थप बुझ्नै पर्दैन,’ यो सरकार जतिदिन सरकारमा बस्छ, त्यतिदिन गणतन्त्र खतरामा पर्दै जान्छ ।’ 

सरकारमा नभए पनि माओवादीले सुशासनको एजेण्डा बोकेर लोकमार्गको यात्रा गरेको बताए । पार्टीमा पनि केही कमजोरी भएको उनले बताए । त्यसैले पुनर्गठन गर्न खोजेको दाबी गरे । अब पार्टीभित्र सांस्कृतिक क्रान्ति ल्याउने भन्दै भ्रष्टीकरणको प्रक्रिया सच्याउने, उपलब्धिमा साथ दिने जनताको चाहनाअनुसार पार्टी अगाडि बढ्छ । रुपान्तरण गर्न नसक्ने अब माओवादी नहुने उनले घोषणा गरे ।

अर्का उपाध्यक्ष्य पम्फा भुसालले वर्तमान सरकार बिचौलियाको भएको दाबी गरिन् । वर्तमान सरकारले आफ्नालाई जोगाउने, अर्कालाई जेल हाल्ने विभेदकारी काम गरेको टिप्पणी गरिन् । वर्तमान सरकारको भूमिकाले प्रतिक्रान्तिकारीले राजा ल्याउने सपना देख्न थालेको बताइन् । 

बिहीबार माओवादी नेताहरु बुर्तिवाङ, गलकोट र ताराखोलामा आयोजित कार्यक्रममा सहभागी भए । बिहीबार अध्यक्ष दाहाल सहितका नेताहरुले लोकमार्ग आसपास र ताराखोलाका सहिद परिवार, जनआन्दोलनका घाइते र बेपत्ता परिवारलाई भेटेका थिए ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully