१५ दिनभित्र इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Telecommunication Authority warning to take action if internet service provider does not pay dues within 15 days

काठमाडौँ — इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र दाखिल गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।

नियामक प्राधिकरणले हालै सार्वजनिक गरेको सूचनामा ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन्स, वेबसर्फर नेपाल लगायतका सेवा प्रदायकहरूलाई तिर्न बाँकी रकम बुझाउन भनेको हो । सेवा प्रदायकहरूले विगत केही वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणमा बुझाउनु पर्ने लेखापरीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषको रकम समयमा नबुझाएको सूचनामा उल्लेख छ ।

प्राधिकरणका अनुसार पटक-पटक पत्राचार, इमेल तथा सूचना प्रकाशनमार्फत जानकारी दिँदा पनि ती सेवा प्रदायकहरुले विवरण र बाँकी बक्यौता रकम दाखिला गरेका छैनन् । ‘यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र नियमानुसारको विवरण, कागजातसहित बांँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गटाउनका लागि यसे सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । 

तोकिएको अवधिभित्र आवश्यक कागजात र रकम नबुझाएमा दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत प्राधिकरणले दिएको छ । 

कान्तिपुर

Link copied successfully