पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने सार्वजनिक लेखा समितिको निर्णय

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

The decision of the Public Accounts Committee to send the investigation report of the Patanjali land case to the authority

काठमाडौँ — सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ ।

समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय र विभिन्न ठाउँमा सोधपुछ गरी प्रतिवेदन बनाएको बताए । 'थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको छ,' उनले भने ।

यसका अलवा  बैठकले सार्वजनिक लेखा समितिमा आएका उजुरीहरुबारे अध्ययन गर्न गठित सातवटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।

भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिकै प्रतिवेदनले किटान गरेको थियो । तर यस्तो प्रतिवेदन लामो समय गुपचुप पारिएको थियो । हदबन्दीका सर्त र बन्देजविपरीत जग्गा अपचलन गरेको भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले पतञ्जलीमाथि थप अनुसन्धान गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक गरिएको थिएन् ।

२०६६ माघ १८ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्मलगायत चलाउन काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । त्यसलगत्तै पतञ्जलीले हाल काभ्रेको बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकको साँगा, नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा त्यसको अढाई महिना नबित्दै मन्त्रिपरिषद्बाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको थियो । हदबन्दी छुटको जग्गा बिक्रीको विवादित निर्णय गर्दा तत्कालीन एमाले नेता नेपाल प्रधानमन्त्री थिए।

कान्तिपुर संवाददाता

Link copied successfully