गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा भन्छन्, थोरै जनसंख्या छ भनेर तिलगाउँमा राज्यको नजर गएन
काठमाडौँ — हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा गत बिहीबार गएको हिमपहिरो पीडितका लागि पहिलो खेपको राहत पुगेको छ । हिमताल फुटेर आएको पहिरोबाट विस्थापितका लागि राहत पुगिसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार चामल १० क्विन्टल, तेल एक सय लिटर, नुन र चिनी दुई/दुई किलो, मैदा ३० क्विन्टल, चिउरा र भुजा एक, एक क्विन्टल, चिया १० प्याकेट, आलु र साग सब्जीको बीउ, साबुन १० प्याकेट र केही औषधि पुगेको छ । त्यस्तै कम्बल १८ थान, त्रिपाल १८ थान, म्याट्रेस १८ थान तिलगाउँ पुर्याएको पाण्डेयले बताए ।
पहिरोका कारण खानेपानी र सिँचाइ अवरुद्ध भएकाले ममर्मतका लागि सिमेन्ट १० बोरा, पाइप १ हजार ८ सय मिटर पुर्याइएको छ ।‘त्यहाँ ५० घरमध्ये १८ घरमा मान्छे बस्छन् । हाल २१ महिला ९ पुरुष, २ बालबालिका गरी ३२ जना बस्दै आएका थिए,’ उनले भने, ‘उनीहरू दिउँसो घरतिर र राति सुरक्षित स्थापनमा बस्ने गरेका छन् ।’
तिलगाउँको हिमपहिरोको अध्ययन गर्न विज्ञको टोली घटनास्थलतर्फ हिँडिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरणको पहलमा विज्ञहरू सुशीलकुमार श्रेष्ठ, शिव बाँस्कोटा र सौहार्द जोशी घटनास्थलतिर हिँडेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले भने आवश्यक राहत अझै नपुगेको बताएका छन् । संघ र प्रदेश सरकारबाट राहत आउन ढिलाइ भएको उनको गुनासो छ । त्यहाँको अवस्थाबारे कान्तिपुरका गंगा बीसीले टेलिफोनमा गरेको कुराकानीः
नाम्खाको तिलगाउँमा पहिरो गएको स्थानको अवस्था के छ ?
पहिलेभन्दा कम जोखिम हो कि जस्तो देखिएको छ । हामीले आफ्नै तर्फबाट आवश्यक राहत सामान जुटाउने काम गरिरहेका छौँ । खानेकुरा, त्रिपालको व्यवस्थामा लागेका छौँ ।
गाउँमा क्षतिको अवस्था कस्तो छ ?
दुईवटा घर चर्को हो । गाउँ त पूरै जोखिममा छ । पहिले सानो खोल्सो, अहिले त्यो क्षेत्रमा ८०, ९० मिटर गहिरो खोला भइसकेको छ । गाउँ वरिपरिको जमिन चिराचिरा परेको छ । थप पानी पर्नेबित्तिकै गाउँ नै बग्ने खतरा छ । गाउँ बग्न अब जम्मा दुई मिटर मात्र बाँकी छ । गाउँलाई पुनर्निर्माण गरी जोगाउने अवस्था नै छैन । गाउँको माथि र तलबाट पहिरो जाने खतरा छ । झन् डर हुँदै गएको छ ।
तिलगाउँमा पहिले पहिरो गएको थियो कि थिएन ?
सय वर्षअघि जति सानो पहिरो आएको थियो भनेर बूढापाकाहरूले भन्थे । त्यतिबेला वर्षातिर सानो पहिरो आएको रहेछ । अहिले माथि दुईवटा हिमतालको भित्रबाट पग्लेको जस्तो छ । हिमतालभन्दा एक किलोमिटर तलबाट पानी विस्फोट भएर पहिरो आएको रहेछ । अहिले हिमतालको भित्रभित्रैबाट पानी चुहिँदै गएको देखिन्छ । यो जलवायु परिवर्तनको प्रभाव होला कि भन्ने अनुमान गर्न सकिन्छ । पानीको बहाव बढी भयो । यहाँ माटो कम र चट्टान बढी भएको हुनाले पहिरो जाने झन् जोखिम छ ।
बाढी आएको मुहानतिर मान्छे पठाउँदा अवस्था कस्तो रहेछ ?
ताल पग्लेर बाढी गएको क्षेत्र हेरेर मान्छे फर्किइसकेका छन् । हिमताल अहिले पनि छ । तालमुनि पग्लिएपछि हिउँ भासिएर चिरा परेर पानी बगिरहेको देखिएको छ ।
के कारणले त्यस्तो भएको होला ? केही पत्ता लागिसकेको छ कि ?
कारण पत्ता लगाउन त विज्ञ टोली आउनुपर्यो । बाढी आएको आठ दिन भइसक्यो अहिलेसम्म आएको छैन । राज्यको संयन्त्रले हेर्नुपर्यो नि । राज्यको केन्द्रमा बस्ने ठूलाहरूले के भएको हो ? भन्नेबारे सोध्नु र्ने हो । हामी नेपालको जनता हो कि होइन ? आठ दिनसम्म पनि किन आवश्यक राहत पुर्याइएन ? किन विज्ञ टोली पठाइएन ? यहाँ जम्मा १८, २० घरधुरी छ । ३०, ३२ जनता मान्छे बस्दो रहेछ भनेर राज्यले हेरेको छैन ।
अहिलेसम्म संघ, प्रदेश सरकारले राहत दिने काम गरेको छ कि छैन ?
राहत पुर्याउन कोसिस गर्दैछौँ भन्ने खबर आएको छ । खास राहत आएको छैन ।
पहिरो गएको गाउँ सदरमुकामबाट कति टाढा पर्छ ?
सदरमुकाम सिमकोटबाट एक सय १८ किलोमिटर टाढा पर्छ । सदुरमुकामबाट तीन दिनमा पुग्न सकिन्छ । आवतजावत गाह्रो छ । १५, २० मिनेट त घोडा, खच्चर हिँड्न नसक्ने अवस्था छ ।
पहिरोपीडित गाउँलेहरू कसरी बसिरहेका छन् ?
पुरानो स्कुल भवनमा बसिरहेका छन् । ५, ६ वटा पालमा बसिरहेका छन् । गाउँमा धेरैजसो बूढाबूढीहरू छन् । तन्नेरीहरू नेपाल चीन-सीमा ताक्लाकोटमा काम गर्न गएका छन् । गाउँमा गाईवस्तुलाई रेखदेख गर्न बूढाबूढी मात्र छन् । गाउँको जनसंख्या ८९ हो ।
पहिरोले गाउँ नै सार्नुपर्ने अवस्था छ कि ?
तिलगाउँ पूर्ण जोखिममा छ । यो बस्तीमा सबै बौद्ध धर्म मान्नेहरू बस्छन् । पारि गुम्बामा बिहान बेलुका पूजाआजा गर्नुपर्ने, दियो बाल्न जाने लामाहरू जोखिम मोलेर गइरहेका छन् ।
पहिरो आउँदा स्थानीयहरू कसरी जोगिए ?
सबै सुतिरहेको बेला राति १० बजे पहिरो आएको रहेछ । गड्याङगुडुङ आवाज आएपछि राति हेलिकोप्टर किन आयो भनेर हेरेका रहेछन् । आवाज बढ्दै गएपछि आँगनबाट पहिरो आएको देखेछन् । उठेका मान्छेले अरूलाई ब्युँझाएर सुरक्षित ठाउँमा लगेछन् ।
तिलगाउँजस्तै अरु गाउँ पनि जोखिममा छन् कि ?
छ होला । अध्ययन गरेपछि थाहा हुने हो । राज्यले काठमामाडौंमा सगरमाथा सम्मलेन गर्छ । नेपालमा जलवायु परिवर्तनको ठूलो प्रभाव छ भनियो । जलवायु परिवर्तनले असरलाई न्यूनीकरण गर्न आएको बजेटलाई आफ्नो क्षेत्रमा हालिन्छ । जहाँ असर परेको छ, बजेट त्यहाँ हाल्नुपर्छ नि । हामीले यसअघि नै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको उच्च जोखिम छ भनेर ध्यानाकर्षण गराएका छौँ । जहाँ जोखिम छ, त्यहाँ हुनुपर्यो । लाजमर्दो कुरा छ, बाढी पहिरो आएको आठ दिन भइसक्यो । विज्ञ र आवश्यक राहत आएको छैन ।
