आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको अनुसन्धान र कारबाही गर्न लेखा समितिको निर्देशन, चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब, नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड शनिबारबाट १५ दिन दिउँसो बन्द हुनेदेखि भारतीय कन्नड लेखक मुस्ताकले जितिन् बुकर पुरस्कारसम्मका खबर आज चर्चामा रहे ।

००००

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखेर पठाउने निर्णय गरेको हो ।

००००

चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब  २७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०र८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो । 

००००

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । केहीबेरअघि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित कार्यालयमा लगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । 

००००

नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड शनिबारबाट १५ दिन बन्द हुने भएको छ । जेठ २५ सम्म बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म आंशिक रुपमा सवारी आवागमन बन्द गर्न लागिएको हो । उक्त खण्डमा सडक निर्माण सुधार गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

००००

भारतीय लेखिका वकिल तथा सामाजिक अभियन्ता बानु मुस्ताकले आफ्नो लघु कथासंग्रह ‘हार्ट ल्याम्प’का लागि इन्टरनेसनल बुकर पुरस्कार जितेकी छन् । योसँगै उनी बुकर पुरस्कार जित्ने कन्नड भाषाकी पहिलो साहित्यकार बनेकी हुन् । उनको कृति ‘हार्ट ल्याम्प’ प्रतिष्ठित बुकर पुरस्कार जित्ने पहिलो लघु कथासंग्रह समेत हो । 

कान्तिपुर

Link copied successfully