काठमाडौँ — नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड शनिबारबाट १५ दिन बन्द हुने भएको छ । जेठ २५ सम्म बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म आंशिक रुपमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।
उक्त खण्डमा सडक निर्माण सुधार गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । आयोजनाले साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक रुटका रुपमा सीतापाईला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक तोकिएको छ । यसअघि पनि उक्त खण्डमा वैशाख २२ देखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।
उक्त अवधिमा सबै पुरानो कालोपत्र सडक भत्काइएको र अब सडक बन्द गरेर नयाँ कालोपत्र गरिने प्रमुख ओझाले बताए । ‘त्यो बेला राति सडक भत्काएर दिउँसो बनाउने भन्ने थियो, ट्राफिक जामले गर्दा त्यो गर्न सकिएन,’ उनले भने, ‘अहिले बाहिरबाट काठमाडौंबाट भित्रने सवारी साधनलाई खानीखोलामा रोकेर पहिला ग्राभेल गरेर वेस राख्छौं, पानीले समस्या नगरे उक्त अवधिभित्र १.८ किलोमिटरमा सडक कालोपत्र गरेर सक्छौं ।’
