लन्डन — भारतीय लेखिका वकिल तथा सामाजिक अभियन्ता बानु मुस्ताकले आफ्नो लघु कथासंग्रह ‘हार्ट ल्याम्प’का लागि इन्टरनेसनल बुकर पुरस्कार जितेकी छन् । योसँगै उनी बुकर पुरस्कार जित्ने कन्नड भाषाकी पहिलो साहित्यकार बनेकी हुन् ।
उनको कृति ‘हार्ट ल्याम्प’ प्रतिष्ठित बुकर पुरस्कार जित्ने पहिलो लघु कथासंग्रह समेत हो । निर्णायकहरूले ‘कथासंग्रहका पात्रहरूमार्फत बाँच्नका लागि गरेको संघर्ष र दृढताका अद्भुत चित्र’ प्रस्तुत गरेकी भन्दै उनको प्रशंसा गरे ।
‘हार्ट ल्याम्प’मा मुस्ताकले सन् १९९० देखि २०२३ सम्म लेखेका १२ वटा कथा समेटिएका छन् । कथासंग्रहमा दक्षिण भारतका मुस्लिम महिलाले भोग्नुपरेका कठिनाइलाई गहिरो रूपमा उजागर गरिएको छ ।
कथासंग्रहमा समावेश कन्नड भाषाका कथा दीपा भास्थीले अंग्रेजीमा अनुवाद गरेकी हुन् । बुकर इन्टरनेसनल पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ जुन लेखक र अनुवादकबीचमा बराबरी बाँडिन्छ । कन्नड भारतीय राज्य कर्नाटकमा बोलिने भाषा हो । 
पुरस्कार जितेलगत्तैको भाषणमा मुस्ताकले शब्दहरूलाई आफ्नो मनमा स्थान दिएर स्वागत गरेको भन्दै पाठकहरूलाई धन्यवाद दिएकी छन् ।
‘यो पुस्तक कुनै पनि कथा सानो हुँदैन र मानवीय अनुभवको कपडामा हरेक धागोले समग्र भार बोक्छ भन्ने विश्वासबाट जन्मिएको हो,’ उनले भनिन्, ‘आजको विभाजनमुखी दुनियाँमा साहित्य अन्तिम केही पवित्र स्थानमध्ये एक हो, जहाँ हामी केही पानाका लागि भए पनि एकअर्काको मनभित्र बाँच्न सक्छौं ।’
इन्टरनेशनल बुकर जित्ने पहिलो भारतीय अनुवादक बन्न सफल भएकी भास्थीले ‘हार्ट ल्याम्प’को जितले कन्नड तथा अन्य दक्षिण एशियाली भाषाहरूमा अनुवादका लागि प्रोत्साहन दिने विश्वास व्यक्त गरिन् ।
यसअघि सन् २०२२ मा भारतीय लेखिका गीताञ्जली श्रीको ‘टम्ब अफ स्याण्ड’ इन्टरनेसनल बुकर पुरस्कार जितेको थियो । उक्त पुस्तक डेजी रोकवेलले हिन्दीबाट अनुवाद गरेकी थिइन् ।
