गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा 

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Bhattarai, joint secretary of the Ministry of Home Affairs, under the control of the authority

काठमाडौँ — गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । केहीबेरअघि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित कार्यालयमा लगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो । स्रोतका अनुसार अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेकोमा विमानस्थल अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको हो । 

भिजिट भिसामा जानेबाट सेटिङमा उठाइएको रकम 'माथिसम्म' पुग्ने गरेको उजुरी परेको छ । तर अख्तियार स्रोतले अनुसन्धानमा रहेको विषय भएकाले थप बोल्न नमिल्ने बतायो ।

भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानमा तानिएका थिए । त्यसपछि बुधबार उनलाई अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । 

भट्टराई अहिले सोधपुछका लागि अख्तियारको नियन्त्रणमा छन् । विमानस्थल अध्यागमन स्रोतका अनुसार अख्तियारले विमानस्थलबाट कम्प्युटरलगायतका कागजातसमेत नियन्त्रणमा लिएको छ ।

दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरी समेत अख्तियारमा परेको स्रोतले बतायो ।  

कान्तिपुर

Link copied successfully