धनगढी — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र बैंकको गभर्नर नियुक्तिका नाममा पनि अनेक चलखेल र प्रपञ्च भइरहेको बताएका छन् । ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो,’ उनले भने, ‘तर, अनेक खालका चलखेल र प्रपञ्च भइरहेका छन् ।’
माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जनजागरण अभियान सम्पन्न गरेपछि शुक्रबार बैतडीको पाटनबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अभियानको उद्घाटनका क्रममा अध्यक्ष दाहालले वर्तमान सरकार गलत दिशातिर गएको आरोप लगाए । ‘यो सरकार राष्ट्र र जनताको विरुद्ध गएको छ । भ्रष्टाचार संरक्षणमा केन्द्रित छ,’ उनले भने ।
माओवादीले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको छ । अभियानको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङलगायत प्रदेश तहका नेता कार्यकर्ताहरु सहभागी छन् ।
अभियान पाटनबाट सुरु भएर सोलुखुम्बुमा समापन हुने कार्यक्रम रहेको माओवादीले जनाएको छ । ‘जेठ महिनाभर सञ्चालन हुने कार्यक्रम छ । तर बजेटका कारण जेठ १० गते पोखरामा पुगेर केही दिनका लागि स्थगत हुनेछ,’ अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए ।
डडेलधुराबाट देउवालाई फोन
अध्यक्ष दाहालले शुक्रबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् । पार्टीको मध्यपहाडी लोकमार्गकेन्द्रित जनजागरण अभियान सुरु गर्ने क्रममा डडेलधुरा पुगेका दाहालले त्यहाँबाट देउवासँग टेलिफोन संवाद गरेका हुन् । ‘डडेलधुरा पुगेका बेला शिष्टाचार टेलिफोन गर्नु भएको हो,’ प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने ‘अध्यक्षले कांग्रेस सभापतिलाई तपाईंको जिल्ला आइपुगेको छु भनेर शिष्टाचार प्रकट गर्नु भएको हो । सभापति देउवाले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।’ स्वकीय सचिव आचार्यका अनुसार उनीहरुबीच राजनीतिक सन्दर्भमा भने कुराकानी भएन ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीको अभियान सञ्चालनका क्रममा डडेलधुरा पुगेर कांग्रेस सभापति देउवालाई गरेको टेलिफोन संवाद गरेका थिए ।
