काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिट्टै हुने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई–चार दिनभित्रै नियुक्ति हुने जानकारी दिए। उनले अब तलमाथि नभई केही दिनभित्रै गभर्नर नियुक्त हुने बताएका हुन्।
उनका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेपछि सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहने गरी तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
उनले भने, ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईसहित गठन गरेका थियौँ। विजयनाथ भट्टराईले पहिले राजीनामा दिनुभयो, त्यो डिफङ्क भयो। त्यसपछि पूर्व गभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ। डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो। काम छिटो सम्पन्न गर्न पुनः पुनर्गठन गरेका छौँ। मान्य मन्त्रीज्यूको संयोजकत्वमा महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहने गरी तीन सदस्यीय सिफारिस समिति गठन भएको छ। अब तलमाथि नभई दुई–चार दिनमै नयाँ गभर्नर पाउनेछौँ।’
मन्त्री गुरुङले हिमाली देशहरू जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको उल्लेख गर्दै सगरमाथा संवादले विश्वको ध्यान आकर्षित गर्ने र विश्वव्यापी एजेन्डा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। — न्युज एजेन्सी नेपाल
