काठमाडौँ — वीर, गंगालाल, ट्रमा सेन्टर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत ठूला सरकारी अस्पतालमा करोडौँ मूल्यका स्वास्थ्य उपकरण अलपत्र परेका छन्।
महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा ती उपकरणको उपयोगका लागि स्वास्थ्य मन्त्रालयले अनुगमन गरी योजना बनाउनुपर्ने औँल्याइएको छ। कोशी अस्पतालमा २ करोड ८ लाख बराबरका ५ प्रकारका उपकरण प्रयोगविहीन बनेको प्रतिवेदनमा जनाइएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ४ करोड २९ लाख पर्ने ७ प्रकारका उपकरण प्रयोगमा नआएको उल्लेख गरिएको छ। प्रतिष्ठान आफैँले किनेका र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेका सामग्री प्रयोगमा नआएको जनाइएको छ।
त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५ करोड ५९ लाख बराबरका पोर्टेबल यूएसजी र भेन्टिलेटर प्रयोगमा नआएको उल्लेख छ। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ करोड २५ लाख बराबरका स्टेरिलाइजर मेसिन प्रयोगविहीन अवस्थामा रहेको महालेखाले जनाएको छ।
ट्रमा सेन्टरमा मुटु रोगको उपचारमा प्रयोग हुने क्याथ ल्याब मेसिन र २ करोड ५१ लाख बराबरका अन्य मेसिन बिग्रिएर सञ्चालनमा नरहेको जनाइएको छ।
