त्रिवि, संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयको जग्गा अतिक्रमणमा

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

On land encroachment of Trivi, Sanskrit and Sudurpaschim University

काठमाडौँ — महालेखापरीक्षकको कार्यालयले त्रिभुवन, संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको औँल्याएको छ।

महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बुझाएको वार्षिक प्रतिवेदनमा यी विश्वविद्यालयहरूले जग्गाको उपयोग र संरक्षण गर्न नसकेको उल्लेख गरिएको छ।

त्रिविको १ हजार ४ सय ७९ हेक्टर जग्गा रहेकोमा केन्द्रीय कार्यालय परिसरमा समेत जग्गा अतिक्रमणमा परेको जनाइएको छ। १ सय १३ रोपनी एक निजी विद्यालयले १५ वर्षदेखि, बागमती किनारमा १५ रोपनी एक संस्थाले र १३ रोपनी जग्गा दुई संस्थाले भोगचलन गर्दै आएको जनाइएको छ।

उक्त जग्गा भोगचलन बापत विश्वविद्यालयले कुनै आम्दानी प्राप्त गर्न नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। सरकारले त्रिविको जग्गा खोजबिन गर्न गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाए पनि प्रतिवेदन अझै सार्वजनिक भएको छैन।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको ३८० बिघा जग्गामध्ये ३ सय बिघा जग्गा अतिक्रमणमा परेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ। संस्कृत विश्वविद्यालयको १२ बिघा जमिनमा स्वामित्व विवाद रहेको पनि प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, दाङको देउखुरी र बलेझुण्डीमा रहेको जग्गामध्ये १ हजार ३ सय ७१ रोपनी जग्गा २०५८ सालदेखि अतिक्रमणमा परेको जनाइएको छ।

‘विश्वविद्यालयहरूको सम्पत्ति केन्द्रीय लगत राखी सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

कान्तिपुर

Link copied successfully