सञ्चार र निगरानी बढाउन सरकारले अघि सार्‍यो आफ्नै भूउपग्रह सञ्चालनको योजना

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

To increase communication and surveillance, the government has launched a plan to operate its own satellite

काठमाडौँ — सरकारले सञ्चार र निगरानी क्षमता बढाउन आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गर्ने तयारी सार्वजनिक गरेको छ। संघीय संसद्मा शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूउपग्रहसम्बन्धी योजना सुनाएका हुन्।

राष्ट्रपति पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गरिनेछ।’

सूचना प्रविधि र सञ्चारका विविध पक्ष समेटिएको नीति तथा कार्यक्रममा साइबर सुरक्षालाई पनि प्राथमिकता दिइएको छ। राष्ट्रपति पौडेलले संवेदनशील सूचना प्रविधि पूर्वाधारको सुरक्षा तथा निरन्तरता सुनिश्चित गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिने योजना गरिएको बताए।

त्यस्तै, दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधार व्यवस्थापनमार्फत देशव्यापी गुणस्तरीय सेवा विस्तार गर्ने नीति पनि अघि सारिएको छ।

आमसञ्चारको पक्षमा सार्वजनिक सेवा प्रसारण संस्थाको सबलीकरण गरी सामग्री उत्पादन, प्रसारण र प्रकाशलाई प्रभावकारी बनाउने योजना सरकारले लिएको छ। हुलाक सेवा प्रणालीलाई व्यवस्थित गर्दै सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गरिने र ‘एक स्थानीय तह, एक हुलाक’ अवधारणाको कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

साथै, सुरक्षा मुद्रण प्रणालीलाई दिगो र भरपर्दो बनाउने तथा ‘डिजिटल नेपाल फ्रेम र्क’ कार्यान्वयनलाई थप प्रभावकारी बनाइने राष्ट्रपति पौडेलले बताए।

कान्तिपुर

Link copied successfully