काठमाडौँ — जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी दिएको छ।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरिने बताएका हुन्।
‘उक्त संवादमा व्यक्त धारणाहरूका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रमहरू लागू गरिनेछ,’ उनले भने, ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ। जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिनेछ।’
सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिने, जलवायु वित्त कोषमा नेपालको पहुँच, नवीन प्रविधिको विकास, निजी क्षेत्रको लगानी तथा अर्थतन्त्रको उत्पादनशीलता अभिवृद्धि हुने गरी सहायता परिचालन गरिने उनले बताए।
‘वनस्पति उद्यान व्यवस्थापन र जडीबुटी स्रोतको संरक्षण, विकास र उपयोग गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘नदीजन्य स्रोतको उत्खनन, पशुधन तथा व्यापारमा तीन तहका सरकारबीच सहकार्य हुने कानुनी प्रबन्ध गरिनेछ।’
