सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's request to increase investment in the field of information and communication technology

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्‌लगायत पूर्वाधारको विकास भइसकेकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउने हेतुले 'हरेक दिन एक पाइला अगाडि' भन्ने सोचका साथ काम गर्न आग्रह गरे।

उनले मुलुकमा सुशासन, विकास र सहज सेवा प्रवाहका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकार विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री ओलीले भने, 'हाम्रो मुलुक उर्वर र जीवनमय छ। यहाँ लगानीको प्रचुर सम्भावना छ। हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ काम गरौँ। हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ। शिक्षालगायत हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढ्दै गएको छ। एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्था अन्त्यका लागि व्यक्तिगत पहलमा गत वर्षदेखि ‘अनलाइन’ माध्यमबाट महत्त्वपूर्ण विषयमा कक्षा सञ्चालन गरियो। विद्यार्थीहरूको भविष्य अन्धकारमा पार्नु हुन्न भनेर गरिएका यस्ता कामलाई प्रोत्साहन गर्नुपर्छ।'

प्रधानमन्त्री ओलीले अब आफ्नै सुरक्षासहितको ‘डेटा’ प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै, व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास नै उत्तर भएको टिप्पणी गरे।

उनले भने, 'एक लाइन टेलिफोन पाउन मन्त्रीको सिफारिस चाहिने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौँ। अन्तरिक्षमा आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छ। यस क्षेत्रमा नयाँ पुस्ताका हस्ती तयार भइसकेका छन्। हामी आत्मविश्वासका साथ अघि बढौँ। सूचना प्रविधिको क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानुपर्छ। अब मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोग गर्नुपर्छ। सूचना र प्रविधिको दुरुपयोग गरी व्यक्तिको हुर्मत लिने प्रवृत्तिबाट भने सचेत रहनुपर्छ।'

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लुबुक) नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे।

सो अवसरमा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्राडा शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो।

कान्तिपुर संवाददाता

Link copied successfully