शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस हुने

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

The government's policy and program will be submitted at the joint meeting of the federal parliament on Friday

काठमाडौँ — सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

संघीय संसद् सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।


यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक तयारी, परिसर क्षेत्रको सजावट, प्रवेश पासको व्यवस्थालगायत कार्यहरू भइरहेको उनले बताएका छन्। राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित ‘रिहर्सल’ गर्ने काम शुक्रबार बिहान गरिनेछ।


संयुक्त बैठकपछि दुवै सदनका छुट्टाछुट्टै बैठक बसेर राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने र सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको प्रवक्ता गिरीले जानकारी दिएका छन्। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरिने सम्भावित कार्यसूची रहेको छ।

कान्तिपुर

Link copied successfully