काठमाडौँ — भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेको घटनामा परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएको छ ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाले यसबारे शुक्रबार बिहान जानकारी गराएकी हुन् । मृत फेला परेकी नेपाली छात्रा प्रिसा साह रहेको र उनी आफ्नै होस्टेलको कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको समेत उनले बताएकी छन् ।
सामाजिक सञ्जाल एक्समा मन्त्री राणाले लेखेकी छन्, 'प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दु:खद् घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।'
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना… pic.twitter.com/ojPdVadvXI
वीरगन्जकी ती छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।
गत फागुन ४ मा केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् ।
