आज देश-दुनियाँमा के-के भयो ?

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — भारतबाट १६ घण्टा आयात हुँदै आएको बिजुली अब १५ घण्टामात्रै, विश्व मजदुर दिवस : महँगीको मारमा श्रमिक समुदाय, बबी सिंह यादवले पड्काएको पेस्तोल सर्लाहीबाट बरामददेखि पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्दसम्मका खबर आज चर्चामा रहे । 

000

भारतबाट बिजुली आयातको समय एक घण्टा घटेको छ। यसअघि १६ घण्टा आयात हुँदै आएकोमा शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने प्राधिकरणले जनाएको छ । भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनबाट ६ सय मेगावाट बिजुली दैनिक १५ घण्टा आयात गर्ने अनुमति दिएको हो । 

000

काठमाडौंका विभिन्न ठाउँमा बिहानको झिसमिसेदेखि बेलुका अबेरसम्म तीनपांग्रे टेम्पो कुदिरहन्छन् । बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म टेम्पो चलाएर आफू र आफ्नो परिवार धान्न प्रयत्नशील श्रमिकको कथा बेग्लै छ । तुलनात्मक रूपमा कम आम्दानी र सहरको महँगीमा च्यापिएर आफ्नो जीवन चलाउन बाध्य टेम्पो चालकको अधिकांश समय सडकमा नै बित्छ । उनीहरूको बिहान उज्यालो नहुँदैदेखि राति अबेरसम्मको समय मानिसलाई ओहोरदोहोर गराएर नै बित्छ ।

श्रमिक दिवस मनाइँदै [तस्बिरहरू] 

000

नेपालमा सञ्चालित सामाजिक सञ्जाल प्लाटफर्म दर्ता र सूचीकृत हुन सरकारले समयसीमा तोकिरहेको बेलामा डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सूचना प्रवाहका पक्षमा क्रियाशील ३१ वटा नागरिक समाज संस्थाहरूले सरकार र सामाजिक सञ्जाल प्लाटफर्म दुवैलाई सन्तुलित जिम्मेवारी वहन गर्न आह्वान गरेका छन् ।  

000

जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले एक समारोहमा नाच्दै पड्काएको 'पेस्तोल' सर्लाही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले भने यस विषयमा नेता यादवसँग बयान लिइरहेको छ । नेता यादवले भने आफूले बन्दुक नपड्काएको र बन्दुकजस्तो देखिने ‘रेन्जर टोय’ नामक खेलौना रहेको बताएकी छिन् ।   

000

पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार जवाफी कारबाही गर्दै पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’ हवाई क्षेत्र बन्द गरेको छ  । समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ। यस सम्बन्धमा बुधबार साँझ एयरपोर्ट्स अथोरिटी अफ इन्डिया (एएआई)ले एक नोटम(नोटिस टू एयरमेन) जारी गरेको छ । यो बन्द पाकिस्तानमा पञ्जिकृत विमान, पाकिस्तानी एयरलाइन्स र अपरेटरका तर्फबाट चल्ने, यसको स्वामित्व, या भाडामा दिइएका विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् ।

कान्तिपुर

Link copied successfully