बबी सिंह यादवले पड्काएको 'पेस्तोल' सर्लाहीबाट बरामद

भिडियो भाइरल भएपछि यादवले भनिन् : बन्दुक होइन, खेलौना हो, अतिरञ्जित नबनाउनुहोला

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

'Pistol' fired by Bobby Singh Yadav recovered from Sarlahi

सर्लाही — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले एक समाराेहमा नाच्दै पड्काएकाे 'पेस्ताेल' सर्लाही प्रहरीले बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले भने यस विषयमा नेता यादवसँग बयान लिइरहेकाे छ ।

नेता यादवले भने आफूले बन्दुक नपड्काएको र बन्दुकजस्तो देखिने ‘रेन्जर टोय’ नामक खेलौना रहेको बताएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, 'भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइबहिनीको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोय’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाइदिनुहुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।'

उनले परिवारका सदस्यसँग रमाइलो गर्दा खिचिएको भिडियोलाई सन्दर्भ र अनुमतिबिना सामाजिक सञ्जालबाट फैलाइएको बताएकी छन् ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोका विषयमा अनुसन्धान थालिएको बताए । 'पेस्तोलजस्तो देखिने एउटा उपकरण सर्लाहीबाट बरामद भएको छ । हामी परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउँछौं,' एसपी खतिवडाले भने । उनका अनुसार अब यस घटनाबारे थप अनुसन्धान भने सर्लाहीबाट हुनेछ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले भिडियोमा देखिएको भनिएको 'पेस्तोल' केहीबेरअघि मलंगवा नगरपालिका-२ स्थित एक घरबाट बरामद गरेर मुचुल्का उठाउने काम भइरहेको बताए । उनले भने, 'कोमल सुप्रियाको गत ११ गते भएको हल्दी कार्यक्रममा उक्त पेस्तोल पड्काएको भन्ने विवरण आएको छ । यो पेस्तोललाई थप जाँचका लागि विधि विज्ञान प्रयोगशाला पठाउनेछौं ।'

कान्तिपुर

Link copied successfully