१६ घण्टा आयात हुँदै आएको बिजुली अब १५ घण्टा मात्रै

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Imported electricity for 16 hours now only 15 hours

काठमाडौँ — भारतबाट बिजुली आयातको समय एक घण्टा घटेको छ। यसअघि १६ घण्टा आयात हुँदै आएकोमा शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने प्राधिकरणले जनाएको छ। भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनबाट ६ सय मेगावाट बिजुली दैनिक १५ घण्टा आयात गर्ने अनुमति दिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतले बिजुली आयात गर्ने समय एक घण्टा कम भएको बताए । 'हामीलाई अभाव हुने मे  र जुनसम्म दुई महिनाको लागि भारतबाट बिजुली आपूर्ति विस्तार गरिएको छ,' उनले भने, 'हामीलाई आवश्यकताका बेलामा भारतले सहयोग गरेको छ, एक घण्टा कम भए पनि थप २ महिना बिजुली आपूर्ति जारी राखेकोमा धेरै आभारी छौं।'

मुलुककै नदी-नालाहरुमा बहाव बढेकले पनि अब औद्योगिक क्षेत्रमा बिजुली कटौती कम हुँदै जाने उनले सुनाए । 'आजसम्म दैनिक १६ घण्टा बिजुली आयात गर्न पाइन्थ्यो भने अब १५ घण्टा मात्रै बिजुली आयात गर्न पाइन्छ,' उनले भने, 'ढल्केबर–मुजफ्फरपुरबाट बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइन्छ ।'

यसअघि टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिइएको छ। प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ।

गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि सौर आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो।

गत चैत १५ पछि दैनिक १६ घण्टा बिजुली आयात हुँदै आएको थियो। बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात गरिँदै आएको थियो।

भारतको इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ। यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ।

आईईएक्सबाट हालसम्म दिउँसो साढे ५ सय मेगावाटसम्म आयात हुँदै आएको छ। नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully