आज १३५ औं विश्व मजदुर दिवस । श्रमिकका हक र अधिकारका लागि यसको महत्त्व छुट्टै छ । यसबारे जानकार नहुँदै काममा लाग्ने श्रमिकका कथा भने अर्कै छन् । उनीहरूलाई काम गरेर हातमुख जोड्न धौ–धौ छ । यस्तो अवस्थामा विभिन्न क्षेत्रमा काम गरिरहेका श्रमिकको दैनिकी यहाँ प्रस्तुत गरिएको छ ।
काठमाडौँ — काठमाडौंका विभिन्न ठाउँमा बिहानको झिसमिसेदेखि बेलुका अबेरसम्म तीनपांग्रे टेम्पो कुदिरहन्छन् । बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म टेम्पो चलाएर आफू र आफ्नो परिवार धान्न प्रयत्नशील श्रमिकको कथा बेग्लै छ । तुलनात्मक रूपमा कम आम्दानी र सहरको महँगीमा च्यापिएर आफ्नो जीवन चलाउन बाध्य टेम्पो चालकको अधिकांश समय सडकमा नै बित्छ ।
उनीहरूको बिहान उज्यालो नहुँदैदेखि राति अबेरसम्मको समय मानिसलाई ओहोरदोहोर गराएर नै बित्छ । स्मृति तामाङ तिनै टेम्पो चालकमध्येकी एक हुन् । स्मृति काठमाडौंको सुन्धारादेखि आरुबारी रुटमा टेम्पो चलाउँछिन् । २७ वर्ष मात्रै भएकी उनले टेम्पो चलाएको देख्दा कतिपयले भने आश्चर्य मानेर हेर्छन् ।
किनभने, उनको उमेरका अधिकांश युवा पुस्ता आजका दिनमा नेपालमा केही सम्भावना छैन भनेर बिदेसिइरहेका छन् । नेपालमै भएकामध्येको ठूलो जमात पनि मुलुकमा केही गर्न सकिँदैन भनेर गुनासो गर्दै बसेका छन् । तर, स्मृति त्यो समूहमा पर्दिनन् । उनी त, बिहानदेखि बेलुकासम्म टेम्पो चलाएर देशमै परिश्रम गरिरहेकी पात्र हुन् ।
टेम्पो चलाएर दैनिक गुजारा चले पनि सहरको चर्को महँगी र न्यून आम्दानीबीचको खाडलले भने उनलाई पोलिरहन्छ । ‘बिहानदेखि रातिसम्म यति धेरै दुःख गर्दा पनि महँगी छल्न सक्ने किसिमले आम्दानी गर्न सकेको छैन,’ स्मृति भन्छिन् । बिहानदेखि बेलुकासम्म गोरु खेतमा जोतिएभन्दा बढी श्रम गर्दासमेत आफ्ना लागि राम्रो किसिमको खानपान खर्च जुटाउन नसकेकामा उनको गुनासो छ । कहिलेकाहीँ स्मृतिलाई बेलुका साहुलाई बुझाउने रकमसमेत पुग्दैन । त्यतिबेला उनको मन झनै अमिलिन्छ ।
टेम्पो साहुलाई दिने पैसा नपुगेको बेला रासन किन्ने खर्चसमेत अभाव हुन्छ । घरभाडा, ग्यास, चामल, दाल तथा अन्य खाद्यान्न र कपडाको मूल्य बढेको बढ्यै हुन्छ । आफ्ना छोराछोरीलाई पढाएबापत विद्यालयमा बुझाउनुपर्ने रकम पनि हरेक वर्ष वृद्धि हुँदै जान्छ । तर, स्मृति तथा यस्ता श्रमिक वर्गको आम्दानी भने सोअनुरूप बढ्दैन जसका कारण जीवनयापन थप कठिन बन्ने गरेको छ ।
स्मृतिको जस्तै व्यथा माइक्रोबसका सहचालक सन्तोष श्रेष्ठको पनि छ । उमेरले मात्र २० वर्षका भएका उनी आफूमाथि ठूलो भार भएको सुनाउँछन् ।
‘बिहानदेखि बेलुकासम्म दुःख गर्यो, करायो बेलुकालाई रासन किन्ने बेलामा दिउँसोभरि गरेको मिहिनेतले पुग्दैन, अरू त के कुरा गर्नु महँगीले गर्दा राम्रोसँग भोक मेटिने गरी खाना खाने अवस्था पनि छैन,’ सन्तोष भन्छन् ।
बिहानबाट बेलुकासम्म काम गर्यो महिनाभर कमाएको पैसाले कोठा भाडा, रासन खर्च, किन्न पनि गाह्रो हुन्छ । बाह्र पास गरेर अरू काम नपाएपछि माइक्रो सहचालक बनेको बताउने उनी पैसा आउँछ र आएलगत्तै महँगीले केही सामान किन्नेबित्तिकै सकिने सन्तोष बताउँछन् ।
गीता देउलाको पनि आफ्नै व्यथा छन् । गीता आफ्नो उमेर अन्दाज लगाउँदै ३०/३४ को हाराहारी भएको बताउँछिन् । उनी सडक सफा गर्ने काम गर्छिन् । कीर्तिपुर, कलंकी, बल्खु क्षेत्रको सडक सफा गर्ने जिम्मा उनको छ । बिहान झिसमिसेमै आफू बस्ने कोठाबाट सडक सफा गर्न हतारहतार निस्किन्छिन् । ‘हामीले जति दुःख गरे पनि चाहेको जस्तो लाउन र खान कहिल्यै पुग्दैन । कोठाभाडा तिर्यो, बिहान बेलुका खायो पैसा सकियो, यस्तै गर्दै जीवन बित्दै छ,’ उनले भनिन् ।
महँगी कम भए जिन्दगी जिउन सहज हुन्थ्योजस्तो गीतालाई पनि लाग्छ । ‘रासन किन्न ५ हजार लिएर गयो भने चामल र तेलबाहेक केही आउँदैन । छोराछोरीलाई पढाउन कति गाह्रो छ । महँगी घट्नुभन्दा पनि आकाश छुन लागिसक्यो,’ गीता आफ्ना व्यथा सुनाउँछिन्, ‘हामी दुःख गर्न जन्मेकाहरूलाई १३४ औं श्रमिक दिवस आए पनि दसैं नै आए पनि हाम्रो दुःख हट्ने हैन, महँगी घट्ने हैन, के काम ?’
पुष्प शिवाकोटीले भारी बोकेर जिन्दगी निर्वाह गरिरहेका छन् । पुष्प आफू ५७ वर्षको भएको र घर दोलखा भएको बताउँछन् । उनी काठमाडौंको न्युरोडवरिपरि भएका पसलहरूले काम दिएको खण्डमा भारी ओसारपसार गर्ने काम गर्छन् ।
उनले दुःख पनि महँगीकै मारले थलिएको जिन्दगीको गुनासो नै हो । ‘भारी बोकेर काठमाडौंको महँगी धान्न साह्रै गाह्रो । जति हलुका भारी त्यति पैसा कम, जति गह्रौं भारी त्यति पैसा बढी । तर, गह्रौं भारी बोक्न शरीरले छाडिसक्यो,’ उनी भन्छन्, ‘महँगीले चामल, तेल, ग्यास किन्दा पनि नपुग्ने अवस्था आयो के गर्ने ? कोठाभाडा, पानी, बत्तीको सबै गर्दा त कमाइभन्दा खर्च बढी छ ।’
पुष्प काठमाडौंको महँगीले परिवार पाल्न नसकेको गुनासो गर्छन् । ‘अर्काको भारी बोकेर ठूला सपना पूरा हुन्छ भन्ने त कल्पना पनि गरेको छैन । तर, रासन खर्च र घरभाडा पनि तिर्न हम्मेहम्मे हुँदा एकदमै गाह्रो हुँदो रहेछ,’ उनले भने, ‘न त पहिलाको जस्तो काम छ, न त कमाइ । तर महँगी बढेको बढ्यै छ ।’
६८ वर्षकी शान्ता रानामगर काठमाडौंको एनएसीको भवन नजिकै रहेको एउटा चौतराको छेउमा पानी, जुस, मास्क बेचेर आफ्नो घरखर्च जोडजाम गर्छिन् । शान्ता आफूले सडक छेउमा कहिले फलफूल कहिले पानी, जुस बेच्न काम गर्न थालेको ५४ वर्ष भएको बताउँछिन् ।
काठमाडौंमा आफू १४ वर्षको उमेरबाट सडक व्यापार गरेको बताउने उनलाई पनि महँगी ह्वात्तै बढेको जस्तो लाग्छ । ‘पहिला थोरै पैसाले धेरै सामान आउँथ्यो, अहिले धेरै पैसाले थोरै सामान आउँछ,’ उनले भनिन् । महँगीको चपेटामा आफूजस्तो गरिखाने वर्ग परेको उनको गुनासो छ ।
शान्ता महँगीले गर्दा आफूलाई घरभाडा, पानी, बत्ती, रासन खर्चका लागि पैसा जुटाउनै गाह्रो हुने बताउँछिन् । आफू काठमाडौंमै हुर्केको तर यति महँगो कहिल्यै नभएको र अहिले चामल, तेल, दाल बढेको देख्दा टाउको दुख्ने बताउँछिन् । ‘सबै कुरा महँगो छ, महँगीले गर्दा घटेको भनेको हामीजस्तो काम गरेर खानेहरूको तौल मात्र हो । अरू घट्ने त सम्झिने मात्र हो,’ उनले भनिन् । शान्तालाई पनि महँगी घटे दैनिकीमा धेरै राहत हुन्थ्योजस्तो लाग्छ । तर, उनलाई महँगी घट्छ भन्ने आश भने छैन ।
मीनबहादुर रम्तेल काठमाडौंको न्युरोड पीपलबोट छेउमै जुत्ता सिलाउने र पोलिस लगाउने काम गर्छन् । उनी आफू ७० वर्ष भएको बताउँछन् । उनले पनि महँगीले गाह्रो भएको बताए । मीन आफू ४० वर्ष अगाडिदेखि जुत्ता सिलाउने र पोलिस गर्ने काम गर्दै आएको बताउँछन् । ‘पहिला दिनको ५०/६० कमाउँदा पनि घरखर्च मज्जाले पुग्थ्यो । अहिले दिनको १५ सय कमाइ भयो भने पनि कता जान्छ जान्छ,’ उनले भने ।
उनलाई पनि पहिलाको तुलनामा महँगीले आकाश छोएको जस्तो लाग्छ । रासन खर्चका लागि तेल, चामल, दाल किन्न नसकिने अवस्था आइसक्यो । ‘महँगीले नेटो काट्यो, किनिसाध्य र छोइसाध्ये केही छैन । धनीले त जति महँगो भए पनि किनेर खान सकिहाल्छन्, मजस्ता गरिबले के गर्ने ? हामी आफ्नै भाग्यलाई दोष दिने हो,’ उनले भने, ‘सकिनसकी काम गर्न सके खाने हो, नभए नखाने । योबाहेक उपाय अरू केही छैन ।’ मीनलाई सरकारले महँगी घटाए हुन्थ्यो र महँगी घटेमा आफूजस्ता अरू श्रमिकलाई पनि राहत हुन्थ्योजस्तो लाग्छ ।
त्यस्तै, जिन्दगीका कथा छन् तारा चौधरीसँग पनि । उनी पेसाले डकर्मी हुन् । उमेरले ३६ वर्ष लागेको बताउने उनी आफूले डकर्मीको काम गर्न लागेको १४ वर्ष भएको बताए । अहिले बल्खुमा काम पाएर गरिरहेको उनी महिनाभर काम नपाउँदा समस्या हुने बताउँछन् । उनी पनि महँगीकै मारले पिल्सिरहेको सुनाउँछन् । ‘महँगीले त तेल, दाल, चामल किनेर खान सक्ने अवस्था नै छैन,’ उनले भने, ‘छोराछोरीलाई बोर्डिङ पढाउने त सपना मात्र हो, सरकारी स्कुल पढाउन पनि गाह्रो भएको छ ।’
उनलाई महँगीले गर्दा कामदार मर्कामा परेको जस्तो लाग्छ । दुःख गरेर कमाएको पैसा महँगीको भेटी चढेको उनको गुनासो छ । ‘जति मरिमेटी गरेर काम गरे पनि पैसा त हातमा लाग्यो शून्य भनेजस्तो भएको छ,’ उनले भने । उनका पनि चाहना श्रमिकले गरेको परिश्रमको मूल्य सजिलै पाऊन् भन्ने छ । ‘महँगीको मारमा इच्छा, चाहना पूरा नभए पनि राम्रोसँग दुई छाक खान पुगोस् र श्रमिकले आफ्नो परिश्रमको मूल्य पाउन गर्न कुनै प्रकारको कष्ट नहोस्,’ उनले भने ।
