आज देश दुनियाँमा के के भयो ?

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — जम्मु-कश्मीरको पहलगाममा मारिएका नेपालीको शव ल्याइँदै, शिक्षामन्त्रीमा एमाले सांसद पन्त नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्तदेखि निजामती सेवामा प्रवेश गर्ने महिलाको अधिकतम उमेरसीमा घटाइनेसम्मका खबर आज चर्चामा रहे । 

०००

भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आक्रमणमा मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल ल्याउने प्रक्रिया सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको शव दिल्ली(लखनऊ हुँदै आजै मध्यरातसम्ममा बुटवल ल्याइने भएको हो । आक्रमणको चौतर्फी भर्त्सना भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

०००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमाले सांसद रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका उनलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले बुधबार बर्खास्त गरेका हुन् । आफूले प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति नदिएको उनले बताए ।  

०००

सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताएका छन् । आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा संसद् सञ्चालन भएसँगै शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताए। 

०००

निजामती सेवामा प्रवेश गर्ने अधिकतम उमेरसीमा महिलाका लागि घटाइएको छ । राज्यव्यवस्था तथा सुशासन समितिमा प्रस्तुत संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा दिलेन्द्रप्रसाद बडू नेतृत्वको ११ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदनमा महिलाको सेवा प्रवेश गर्न पाउने अधिकतम उमेरसीमा घटाइएको हो ।  

०००

वर्तमान विश्व अर्थतन्त्रमा देखिएको अनिश्चिततामाझ क्षिण एसियाली देशहरूको आर्थिक वृद्धिदर पनि प्रभावित हुने विश्व बैंकको ठहर छ । बुधबार बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया डिभलप्मेन्ट अपडेट, ट्याक्सिङ टाइम्स’ प्रतिवेदनका अनुसार सन् २०२५ मा क्षेत्रीय वृद्धिदर ५।८ प्रतिशत रहनेछ । यो अघिल्लो अक्टोबरको प्रक्षेपणभन्दा ०।४ प्रतिशत बिन्दुले कम हो ।  

कान्तिपुर

Link copied successfully