जम्मु-कश्मीरको पहलगाममा मारिएका नेपालीको शव ल्याइँदै

वैशाख १०, २०८२

राजेश मिश्र

Dead bodies of Nepalis being brought to Pahalgam in Jammu and Kashmir

काठमाडौँ — भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आक्रमणमा मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल ल्याउने प्रक्रिया सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको शव दिल्ली-लखनऊ हुँदै आजै मध्यरातसम्ममा बुटवल ल्याइने भएको हो ।

बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको जम्मू-कश्मीरको पहलगाममा मंगलबार आतंककारीले गरेको आक्रमणमा मृत्यु भएको थियो । दूतावासका अनुसार मृतक र उनीसँगै रहेका ४ जनालाई साँझ ५ बजेको उडानमा श्रीनगरबाट विमानमार्फत नयाँदिल्ली ल्याइँदैछ । 

दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार दिल्लीबाट राति साढे ९ बजेको उडानमार्फत उनीहरूलाई लखनऊस्थित विमानस्थल पुर्‍याइनेछ । उनका अनुसार उक्त विमान राति १०:४० मा लखनऊ विमानस्थलमा अवतरण हुनेछ । त्यहाँबाट भारतीय सुरक्षा निकायले नेपालस्थित सीमासम्म ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने योजना तय भएको छ । त्यसपछि शव परिवारजनको जिम्मा लगाइनेछ ।

आतंकवादी आक्रमणमा सुदीपसहित २७ जनाको ज्यान गएको छ । मारिनेमध्ये संयुक्त अरब इमिरेट्सका एक नागरिकसँगै भारतीय राज्य उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसका पर्यटक छन् । जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरूमा पनि उच्च सतर्कता अपनाइएको छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully