निजामती सेवामा प्रवेश गर्ने महिलाको अधिकतम उमेरसीमा घटाइने, पुरुषको यथावत

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

The maximum age limit for women entering civil service will be lowered, while that of men will remain the same

काठमाडौँ — निजामती सेवामा प्रवेश गर्ने अधिकतम उमेरसीमा महिलाका लागि घटाइएको छ । राज्यव्यवस्था तथा सुशासन समितिमा प्रस्तुत संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा दिलेन्द्रप्रसाद बडू नेतृत्वको ११ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदनमा महिलाको सेवा प्रवेश गर्न पाउने अधिकतम उमेरसीमा घटाइएको हो । 

समितिबाट पारित हुने चरणमा रहेको विधेयकमा महिलाले ३९ वर्षसम्म मात्रै सेवा प्रवेश गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । हाल ४० वर्षसम्म महिलाले सेवा प्रवेश गर्न पाउने व्यवस्था छ । अवकाशको उमेर २ वर्ष बढाएर ५८ बाट ६० बनाउँदा पनि महिलाको सेवा प्रवेश उमेरसीमा भने एक वर्ष घटाएर ३९ बनाइएको हो । 

पुरुषको सेवा प्रवेशको उमेरसीमा भने हाल कायम रहेको ३५ वर्ष नै हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १८ मा सरकारले महिलाको उमेरसीमा ३७ वर्ष र पुरुषको ३२ वर्ष हुने व्यवस्था प्रस्ताव गरेको थियो । उक्त उमेरसीमालाई उपसमितिले संशोधन गरेर पुरुषको यथावत ३५ वर्ष राख्ने र महिलाको भने १ वर्ष घटाएर ३९ वर्ष हुने प्रस्ताव गरिएको छ । 

कर्मचारी ट्रेड युनियनहरूले भने सेवा प्रवेशको उमेर पुरुषलाई ३५ वर्ष र महिलालाई ४० वर्ष नै कायम गर्नुपर्ने माग गरेका छन् । अवकाशको उमेर २ वर्ष बढाउँदा महिलाको सेवा प्रवेश उमेर १ वर्ष घटाउनु तर्कसंगत नभएको सांसदहरूको पनि भनाइ छ । 

कान्तिपुर

Link copied successfully