काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा आफूलाई बुधबार बर्खास्त गरिएको तामाङले बताएका छन् । आफूले प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति नदिएको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।
मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
उनी साउन १८ मा नियुक्त भएका थिए ।
