शिक्षक आन्दोलनबारे एमाले सांसद श्रेष्ठ : जिम्मेवार ठाउँबाट गैरजिम्मेवार अभिव्यक्ति आएपछि ‘मर्ता क्या नहिँ कर्ता’

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

UML MP Shrestha on teachers' movement: After irresponsible statements from responsible places, 'Marta kya nahin karta'

काठमाडौँ — एमालेका सांसद तथा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जिम्मेवारी ठाउँमा समयमा पहलकदमी नहुँदा शिक्षकहरू सडकमा पुगेको बताएका छन् । सबैले सम्मान खोज्ने तर अपमान भएमा सडकमा त्यसको अभिव्यक्ति हुने गरेको श्रेष्ठको भनाइ छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद श्रेष्ठले शिक्षक हेर्दाहेर्दै सडक आन्दोलनमा आएको बताए । 'हेर्दाहेर्दै शिक्षकहरू सडकमा आए । बिस्तारै बिस्तारै अनकन्ट्रोल हुँदैछ,' उनले भने, 'सबै जिम्मेवार हुनुको अर्को विकल्प छैन । जिम्मेवार ठाउँबाट गैरजिम्मेवार अभिव्यक्ति हुन थाल्यो भने मर्ता क्या नहिँ कर्ता ! सबैले आ-आफ्नो सम्मान खोज्छ । कसैले पनि आफूलाई अपमान गरेको सहँदैन । अपमानको पीडाको अभिव्यक्ति सडकमा ओर्लियो ।'

शिक्षक आन्दोलनलाई केही होइन भन्दै गर्दा समस्या बढेको श्रेष्ठको भनाइ छ । आफू काठमाडौंका जनताको प्रतिनिधि रहेको बताउँदै सांसद श्रेष्ठले त्यसलाई गम्भीरतापूर्वक हेरिरहेको पनि बताए । सांसद र नेताहरू जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।  

शिक्षक सडकमा रहेको बेला कर्मचारी खटाएर कक्षा १२ को परीक्षा गर्ने निर्णय गलत रहेको पनि श्रेष्ठको भनाइ छ ।

'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा गरिएका कतिपय व्यवस्थामा असन्तुष्ट रहेका कर्मचारी ट्रेड युनियनले आन्दोलनको घोषणा गरेका छन् । सांसद श्रेष्ठले शिक्षक आन्दोलनलाई पच्छ्याउँदै कर्मचारी पनि आन्दोलनमा जाने वातावरण बनाउन नहुने सुझाव दिएका छन् । 'देशको स्थायी सरकार मानिएको निजामती कर्मचारी सडकमा आउन लाग्यो भने समस्या हुन्छ,' उनले भने ।

त्यस्तै, संसदीय समितिमा गोपनियताका नाममा सञ्चारमाध्यमलाई अपमान गर्ने र पर धकेल्ने कार्य गर्न नहुने पनि सांसद श्रेष्ठले स्पष्ट पारेका छन् ।  

कान्तिपुर

Link copied successfully