शिक्षक आन्दोलन र सरकारको कान

वैशाख १०, २०८२

पाठक पत्र

Teachers' movement and the ear of the government

तीन जना प्रधानमन्त्रीका पालामा छुट्टाछुट्टै तीन पटक सहमति भयो । तर कार्यान्वयन भएन । तिनै कुरा सम्झाएर अनि कुनै अस्वाभाविक र असम्भव माग नराखीकन सुरु गरिएको काठमाडौंकेन्द्रित शिक्षक आन्दोलन २१ दिन पूरा भयो ।

यस क्रममा टाढाटाढाका शिक्षकले धेरै दुःख पाइरहेका छन् । उनीहरूमध्ये कति त पहिलो पटक काठमाडौं आएका पनि रहेछन् । खर्च सकिएर, बिरामी भएर तिनको अवस्था ज्यादै दयनीय बन्दै छ ।

शिक्षकका मागप्रति शिक्षामन्त्री भट्टराई सकारात्मक देखिएकी हुन् । तर प्रधानमन्त्रीचाहिँ पहिलेदेखि नै ‘५२ प्रतिशत विद्यार्थी फेल गराउनेलाई किन सुविधा बढाउनुपर्‍यो !’ भन्ने खालको अभिव्यक्ति दिएर नकारात्मक बनेका बन्यै छन् । यसैबीच, आफ्नै पार्टीको प्रधानमन्त्री भएर पनि अकस्मात् सोमबार शिक्षामन्त्रीले राजीनामा दिइन् ।

शिक्षामन्त्रीको राजीनामाकै कारण शिक्षक आन्दोलनलाई पनि असर पुगेको छ । तर शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्रीको राजीनामा र आन्दोलनका बीच कुनै सम्बन्ध नभएको भन्दै आन्दोलन जारी रहने बताएका छन् । शान्तिपूर्ण ढंगले अघि सारिएका शिक्षकका माग नसुन्ने सरकारको कान कसरी र कुन उपायले खुलाउने भन्ने विषयमा भने व्यापक विचारविमर्श र चिन्तन गर्नुपर्ने देखियो ।

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

पाठक

Link copied successfully