केन्द्राध्यक्षलाई काठमाडौं आउन शिक्षक महासंघको ताकेता

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Teacher's federation guide to the center president to come to Kathmandu

काठमाडौँ — सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक लगायत शिक्षकलाई काठमाडौं आउन अपिल गरेको छ । 

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै परीक्षा बहिष्कार गर्दै काठमाडौंमा जारी सडक आन्दोलनमा सहभागी हुन ताकेता गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा ११ गतेबाट सञ्चालन हुने परीक्षामा सहभागी नहुन शिक्षक कर्मचारीलाई आग्रहसमेत गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रमुख जिल्ला अधिकारीमार्फत निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने जनाउँदै आएको छ । ‘बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको कुरामा ध्यानार्कषण भएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा आग्रह गर्दछौं ।’

कान्तिपुर

Link copied successfully