भीड तित्तरबित्तर पार्नै युद्धमा प्रयोग हुने एसएलआर र इन्सास राइफल प्रयोग भएको प्रहरीको प्रतिवेदन
काठमाडौँ — काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली गठ्ठा तथा असबाबका सामाग्रीहरू उपयोग भएका विषयमा प्रहरीले तथ्यांक लुकाएको खुलेको छ। घटनाका बारेमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गत बुधबार पत्रकार सम्मेलन गरेर तथ्य र तथ्यांकहरू सार्वजनिक गरेका थिए।
तर प्रहरीले आन्तरिकरुपमा तयार पारेको प्रतिवेदनमा भने प्रवक्ता आचार्यले पत्रकार सम्मेलनमा दिएकोभन्दा भिन्न तथ्यहरू समावेश छन्। खासगरी गोली गठ्ठा तथा असबाबका सामाग्रीहरू उपयोगका सम्बन्धमा प्रहरीले जानीबुझी सूचना लुकाएको खुलासा भएको छ।
आन्तरिक प्रतिवेदनमा यकिन विवरण समावेश गरेपनि प्रहरीले सञ्चारमाध्यमलाई भने प्रहरीको छवि जोगाउने हिसावले सूचना प्रवाह गरेको पाइएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी प्ररिसर काठमाडौंले प्रतिवेदन तयार गरेकोमा उक्त प्रतिवेदनले भने नयाँ तथ्यहरू खुलाएको छ।
भीड तित्तरबित्तर पार्नेदेखि भड्किएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले एसएलआर र इन्सास राइफलबाट घातक बल प्रर्दशनकारी माथि प्रहार गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । तर यसअघि प्रवक्ता आचार्यले एसएलआर र इन्सास राइफल प्रयोग गरेको विषय खुलाएका थिएनन्।
एसएलआर भनेको अर्धस्वचालित बन्दुक हो। जसमा एकसाथ १८ वटासम्म गोली लोड गरेर ३०० मिटर टाढासम्म प्रहार गर्न सकिन्छ। इन्सास भने एसएलआरभन्दा सानो आकारको आधुनिक अर्धस्वचालित राइफल हो। यी दुवै हतियार युद्धमा प्रयोग हुने हतियार हुन्।
तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीले एसएलआर र इन्सास राइफलमार्फत ८१ जंगी राउन्ड र १ सय ६५ ब्ल्याङ्क राउण्ड फायर गरेको थियो । जबकि प्रवक्ता आचार्यले यसअघि यसबारे कुनै तथ्य खुलाएका थिएनन्।
यस्तै, प्रहरीले प्रदर्शनकारीलाई ७४६ ग्यास सेल प्रहार गरेको जनाएको थियो ।तर आन्तरिक प्रतिवेदनमा भने ८६८ वटा ग्यास सेल प्रहार भएको उल्लेख छ। सर्टगनमार्फत् कार्टिज ३ र रबर छर्रा २०१ फायर गरेको परिसरको प्रतिवेदनले देखाएको छ।
भीड नियन्त्रणकालागि प्रहरीले लाठी ५९, शिल्ड/ढाल ४९, हेल्मेट ढाल ४९, मेघाफोन १, हेन्डसेट १ र फुल गियर ५ वटा प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ।
सडकमा जम्मा भएको भीड तित्तरबित्तर पार्नेदेखि भड्किएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले म्याद गुज्रेका अश्रुग्यास समेत प्रयोग गरेको थियो। म्याद सकिएका उपकरण प्रयोगलाई मानव अधिकारका दृष्टिले ‘अमानवीय’ मानिन्छ। म्याद गुज्रेका यस्ता उपकरण प्रयोगले सुरक्षा कमजोर हुन्छ भने स्वास्थ्यमा गम्भीर असर पर्छ।
उक्त दिन त्यसरी घातक बल प्रयोग भएको विषयमा सत्य तथ्य छानविन गर्नुपर्ने संसद् र सडकबाट माग उठिरहेको छ। गोली लाग्नेहरूमा प्रदर्शनकारीभन्दा पनि सर्वसाधारणहरू बढी देखिएका छन्। तर प्रहरी अधिकारीहरू भने यस विषयमा आफूहरूले लुकाउनु पर्ने कुनै कुरा नरहेको दाबी गर्छन्।
‘त्यत्रो घर जलेका छन्, लुटपाट भएको छ, यो क्षतिलाई पनि हेरौं, ’ प्रवक्ता आचार्यले भने, ‘ सबै गोली र ग्यास मान्छे ताकेर हानिएको होइन, भीड नियन्त्रणका लागि प्रयोग गरिएको हो।' आचार्यका अनुसार २० जनालाई गोली लागेकोमा ८ जनालाई मात्र बुलेट लागेको हो। बाँकी १३ जनालाई रबर मात्र लागेको छ । ‘भीड नियन्त्रणका लागि प्रहरीले धेरैनै संयमित भएर काम गरेको छ, जसले धेरै क्षति हुन पाएन,’ आचार्यको दाबी छ।
सो प्रतिवेदनअनुसार आगजनी तथा तोडफोडबाट प्रहरीका सवारी साधन ७ वटा, अन्य सरकारी कार्यालयका सवारी साधन १० वटा, संस्थानको सवारी साधन १, निजी सवारी साधन १८ र नम्बर नखुलेका सवारी साधन चारपाङ्ग्रे २७ र दुई पाङ्ग्रे सहित ६ वटा गरेर ६९ वटामा सवारी साधनहरूमा क्षति पुगेको छ।
प्रदर्शनकारीले व्यक्तिको घर ६ वटा, निजी संस्था २९, सरकारी कार्यालय ३, राजनीतिक दलका कार्यालय २ सहित ४० घर, संस्था र कार्यालयहरूमा क्षति पुगेको छ। प्रर्दशनकारी ३ महिलासहित ५४ जना घाइते भएको समेत प्रतिवेदनमा उल्लेख छ।
