काठमाडौँ — सरकारले राजावादीको हिंसात्मक प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचार गरिदिने घोषणा गरे पनि बिरामी र आफन्तहरूले भने उपचारको खर्च तिर्न बाध्य छन्। अस्पतालमा उपचार गरिरहेका घाइते र उनीहरूका आफन्तलाई उपचार खर्चको जोहो गर्न कठिनाइ भएको छ।
प्रदर्शनका क्रममा गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका–६, बेलटार सातधारेकी रेविका खत्रीको उपचारमा उनको परिवारले ३ लाख रुपैयाँ खर्च गरिसकेको छ। रेविकासँगै पैदल हिड्दै गर्दा गोली लागेका उनका दाइ दिनेश अस्पतालबाट ५ दिनपछि डिस्चार्ज भए । तर अहिलेसम्म पनि उनीहरूले सरकारबाट कुनै सहयोग पाएका छैनन्।
घाइतेको नि:शुल्क उपचार गर्ने घोषणा गरेको सरकारले घाइतेले बिलहरू र निवेदनसहित आएमा अस्पतालले मन्त्रालयमार्फत् शुल्क, औषधि खर्च र उपचार खर्च ‘रिफन्ड’ गरिदिने भनेको छ। तर उनीहरूलाई भेट्न अहिलेसम्म न सरकारी पक्षका आधिकारिक मान्छे आएका छन्, न प्रर्दशनकारीनै ।
रेविकाको हाल सिभिल अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै छ। ‘उनको खुट्टाको दुई पटक अप्रेसन गर्नुपर्यो,’ अस्पतालमा बहिनीको हेरचाह गर्दै आएकी दिदी अनिताले भनिन्, ‘दाहिने खुट्टामा लागेको गोलीले तिघ्राको मासु निकाल्दा मुटुदेखि आएको नसामा पनि असर पारेको रहेछ। पछि नसाले काम नगरेपछि पुनः अप्रेसन गरेर देब्रे खुट्टाको नसासँग जोडिएको छ।’
अनिताका अनुसार उनले बहिनीलाई सिभिल अस्पताल ल्याएकै दिन आफ्नो बैंक खातामा भएको ६५ हजार रुपैयाँ खर्च गरेकी थिइन् । ‘सबै औषधि यहाँ पाइएको छैन, बाहिरबाट पनि किनेर ल्याएका छौँ,’अनिताले भनिन्,‘ ठ्याक्कै हिसाब नभएपनि तीन लाख रुपैयाँ खर्च भई सकेको छ। बिल राखे पैसा त फिर्ता आउँछ भन्ने सुनेका छौँ तर अब खर्च गर्ने पैसा पनि साथमा छैन।’
खत्री परिवारको आर्थिक अवस्था सामान्य छ। गाउँमा उनीहरूको परिवारको सानो दूध डेरी छ। घर खर्च धान्न मुस्किल भएपछि अनिता र रेविकाका दाइ जापान गए। एक वर्ष नपुग्दै कोभिड महामारी सुरु भयो। सोचेजस्तो कमाइ भएन।
‘दुई वर्षअघि बुबाको फोक्सोमा पानी जमेपछि ७ लाख खर्च गरेर उपचार गरेका थियौँ, आमा नियमित औषधि प्रयोग गर्नुहुन्छ,’ अनिताले भनिन् । अनिता स्वयम् पनि पढ्दै रेस्टुरेन्टमा काम गर्छिन् । आफू पनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण जापान जाने तयारीमा रहेको उनले बताइन्।
‘आउँदो ४ तारिखमा मेरो भिसा आवेदन दिने मिति छ। परिवार चलाउन र ऋण तिर्न जापान जाने सोचेको थिएँ,’ अनिताले भनिन्, ‘तर, अब बहिनीको यस्तो अवस्था भएपछि केही सोच्नै सकिरहेको छैन। भिसा र टिकटका लागि बचत गरेको पैसा बहिनीको उपचारका लागि खर्च गरिरहेको छु। आफन्तले पनि सहयोग गर्नुभएको छ।’
रेविकाका बुबा तुलसीराम खनाल चौदण्डीगढी नगरपालिकाका एमालेबाट मनोनित कार्यपालिका सदस्य हुन्। ‘पढेर रोजीरोटी गरेर खान्छु भनेर फर्किँदै गर्दा गोली लाग्यो। मेरी छोरी आन्दोलन गर्न सडकमा गएकी होइनन्,’ छोरीलाई गोली लागेको खबर सुनेपछि उनी श्रीमतीसँगै काठमाडौँ आएका खत्रीले भने, ‘केही गर्छु भनेर काठमाडौँमा पढाइसँगै संघर्ष गरिरहेकी मेरी छोरीको जीवन नै बिचल्ली भयो। उसको जीवन के होला? भविष्य के होला? मेरी छोरीले पाउने सेवा सुविधा, क्षतिपूर्ति र भविष्यको ग्यारेन्टी यो राज्यले गर्दियोस्।’
नरेफाँटमा रहेको खाद्यान्न पसलमा हिसाबकिताबको काम सकेर दाइ दिनेशकुमार खत्रीसँगै कोठामा फर्कदैँ गर्दा दुवै जनाको खुट्टामा उनीहरूलाई प्रहरीको गोली लागेको थियो । प्रदर्शनका कारण गाडी नचलेपछि रेविका आफ्नो कोठामा ग्वार्को नगाई डरले ठूलो बुबाको छोरा दिनेशको गएकी थिइन् । कोठा पुग्नै लाग्दा साँझ पाँच बजेतिर उनीहरूलाई गोली लागेको हो।
तिघ्रामा रहने मुख्य नसा फुटेपछि त्यसलाई शल्यक्रिया गरी अर्को तिघ्राबाट नसा ल्याएर जोडिएको छ। तिघ्राको मांसपेशीमा गम्भीर प्रकारले दख्खल परेका कारण प्लाष्टिक सर्जरीसहित थप शल्यक्रिया आवश्यक पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
प्रहरीले चलाएको गोली पेटमा लागेर ट्रमा अस्पतालमा उपचार गराई रहेका डिल्लीप्रसाद लुइँटेलका लागि पनि परिवारले करिब ९० हजार रुपैयाँ खर्च गरिसकेको छ। दाइलाई गोली लागेर घाइते भएको खबर पाएपछि राति नै गाडी चढेका काठमाडौँ आइपुगेका माइलो भाइ केदार गाडी भाडा बाहेक केही नबोकी आएका थिए।
‘घाइतेको उपचार प्रबन्ध सरकारले नै गर्छ भन्ने उनले सुनेको थिए। तर, अस्पताल बाहिर किन्नु औषधि र परीक्षण रिपोर्टको पैसा पनि तिर्नुपरिरहेको छ,' केदारले भने, ‘९० हजार रुपैयाँ खर्च भइसकेको छ। अब बाहिर औषधि किन्न पर्यो भने पैसा पनि छैन। बिहान बेलुकाको खाना कसरी खाने चिन्तामा छु ।’
केदारका अनुसार ट्रमा अस्पतालमा अहिले त पैसा तिर्नुपरेको छैन । तर पछि तिर्नुपर्ने हो/हैन भन्ने कुरा पनि आफूहरूलाई कसैले आधिकारिक जानकारी दिएको छैन। ‘आमा क्यान्सरले बित्नुभयो, त्यसपछि घर हेर्ने हाम्रो अभिभावक दाजु नै हो,’ केदारले भने, ‘दाजुको कमाइमा नै हाम्रो घर, पढाइ खर्च र व्यवहार चल्दै आएको छ। पैसा पनि को सँग माग्ने अनि मागेको पैसा कसरी तिर्ने ?’
काठमाडौँमा हामीहरूको कोही पनि छैन, गाउँतिर पनि को सँग पैसा माग्ने भन्ने बित्तिकै भएका जग्गा जमिन पनि बिक्री हुँदैन । हाम्रो आम्दानीको स्रोत दाइनै हो । पैसा कसरी व्यवस्थापन गर्ने भनेर तनावले उनी अस्पतालमा बिहीबार पनि छटपटिँदै थिए । अस्पतालबाहिर किन्नुपर्ने औषधि भने दाइकै साथीहरूले किनिदिएर सहयोग गरिरहेको उनले बताए ।
‘अहिलेसम्म सरकार पक्षका मानिसहरू कोही आएका छैनन् । हामीले हाम्रो समस्या कसलाई सुनाउने पनि थाहा छैन,’ केदारले भने । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६, लोखर्क घर भएका २७ वर्षीय लुइँटेल काठमाडौँमा टिकट काउन्टरमा कामसँगै लोक सेवाको तयारी गरिरहेका थिए।
शुक्रवार बस टिकट काउन्टरमा आउन खोजेका यात्रुलाई लिन जाँदा आफूलाई गोली लागेको उनले बताएका छन्। डिल्लीको परिवारमा तीन भाइ, एक बहिनी र बाबु छन्। कतार गएर केही वर्ष दुःख गरेका उनी देश फर्किएपछि बस काउन्टरमा काम गर्न थालेका थिए ।
‘आईसीयू’ मा राखेर उपचार गराइरहेका उनको शुक्रवार साँझ आकस्मिक रूपमा पेटको आन्द्राको शल्यक्रिया गरिएको थियो। ६ हप्तापछि गोली लागेर चोट पुगेको आन्द्रा पुन: अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । ट्रमा सेन्टरमै उपचाररत रहेका भोजपुरकै शम्भु दर्जीको पनि अस्पताल बाहिरको खर्च जोहो गर्न कठिन छ।
शम्भु वैदेशिक रोजगारीका लागि कतार उड्ने भनेर रामप्रसाद गाउँपालिका–१ खेनामा रहेको घरबाट बिदाबारी भई काठमाडौँ रहँदा गोली लागेको हो । ‘मलाई कुहिनोमा गोली लागेको छ, घाउ सुकेपछि अप्रेसन गर्नुपर्छ भनेर चिकित्सकले भनेका छन् । अझै कति अस्पताल बस्नुपर्ने हो थाहा छैन,’ शम्भुले भने, ‘विदेश जाने भनेर सबै पैसा सकियो । अस्पतालको खर्च त तिर्नु परेको छैन । खाना खर्च र बाहिरबाट ल्याउनुपर्ने औषधि खर्चको जोहो गर्नै मुस्किल भएको छ।’
८ वर्षअघि बुबा गुमाएका दर्जी आमाको क्यान्सरको उपचार सकाएर कतार जाने तयारीमा थिए । अहिले उनको दिदी बिना दर्जीले भाइको उपचार गराइरहेकी छन्। देब्रे खुट्टामा गोलीको छर्रा लागेर घाइते भएकी ४० वर्षीया इन्द्रमाया लिम्बूलाई अस्पतालबाट सोमबार डिस्चार्ज गर्न श्रीमान्ले पैसा सापटी खोजेर ल्याएका थिए।
उनका श्रीमान् गंगाबहादुर लिम्बू बिजुलीको काम गर्छन् । थेपारी गरेर फर्किँदै गरेकी श्रीमतीलाई गोली लागेको खबरले पछि उनीसँगै काम गर्ने साथीसँग ५ हजार रुपैयाँ सापट मागेर अस्पताल आएका थिए । यो दम्पतीलाई महिनाभर काम गरेको पैसाले परिवार चलाउन पनि मुस्किल छ ।
गंगाले श्रीमतीको उपचारका लागि करिब सबै गरेर २५ हजार रुपैयाँ खर्च भएको बताए । बाँकी पैसा समेत सापटी मागेर श्रीमतीलाई सिभिल अस्पतालबाट डिस्चार्ज गरेको उनले बताए । लिम्बू दम्पती १ छोरा र २ छोरीसहित बस्दै आएका छन् ।अस्पताल, प्रशासन र सरकारको समन्वय अभावमा घाइते र आफन्तले दुःख पाइरहेका छन् ।
कोहीलाई पैसाको सरकारले दिन्छ भन्ने पनि जानकारी छैन । कोहीलाई जानकारी भए पनि प्रक्रियाको बारेमा थाहा नहुँदा अनावश्यक हैरानी खेपिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने घाइते भएकाहरूको आफूहरूले निःशुल्क उपचार गरिरहेको बताएको छ।
‘नेपाल सरकार मन्त्रिपरिषद्को चैत १५ को बैठकले उपचार व्यवस्थापन निःशुल्क गर्न मन्त्रालयलाई निर्देशन दिएको छ। हामीले अस्पतालमा पत्र पठाएका छौँ/फोन गरेका छौँ यसको बाँकी सहजीकारण अस्पतालले गर्नुपर्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘यदि उपचार गरेर कोही डिस्चार्ज हुनु भइसकेको छ भने पनि हामी बिल र प्रहरीको रिपोर्टसहित आएमा मन्त्रालयबाट नै भुक्तिानीको व्यवस्था गर्नेछौं । ’
मन्त्रिपरिषद्को शुक्रवार अबेर बसेको बैठकले घाइतेहरूको उपचार निःशुल्क गर्ने निर्णय गरेपछि त्यसअनुसार स्वास्थ्य मन्त्रालयले घाइतेहरू उपचाररत सबै अस्पतालहरूमा निःशुल्क गरिदिन र खर्चको विवरण स्वास्थ्य मन्त्रालयमा बुझाउन निर्देशन दिएको उनले बताए ।
‘यो दिन, यो समय र यो स्थानमा घाइते भएको भनेर पूरा विवरण बिरामी पक्षले अस्पताललाई बुझाएपछि अस्पतालले भेरिफाइ गर्छ र अस्पतालभित्र भएका उपचार र औषधिहरू सबै निःशुल्क हुन्छ,’ प्रवक्ता बुढाथोकीले थपे, ‘अस्पतालमा उपलब्ध नभएर बाहिरबाट किन्नुपर्यो भने त्यो बिल राखेर रिफन्डका लागि सम्बन्धित अस्पताललाई बुझाउने र अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पठाउँछ र मन्त्रालय आफैँ वा मन्त्रिपरिषद्मा पठाएर भुक्तानी गर्छ।’
बुढाथोकीका अनुसार कुनै पनि बिरामीले बाहिरबाट किन्न सक्ने आर्थिक अवस्था नभए उनको परिवारले सामाजिक सुरक्षा इकाइमा विपन्नको निवेदन सहित परिचयपत्रबाट सहयोग लिन सक्नेछन् । घटना भएकै दिन मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म बिरामीलाई अप्ठ्यारो परे पनि त्यसपछि भने आफूहरूले निर्देशन दिइसकेको उनले बताए।
मन्त्रालयका अनुसार अहिले पनि घाइते वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती अस्पताल, पाटन अस्पताल, बीएन्डबी अस्पताल, प्रहरी अस्पताल र काठमाडौँ मेडिकल कलेजमा उपचाररत छन्।मन्त्रालयका अनुसार आन्दोलनका क्रममा १ सय २९ जना घाइतेमध्ये १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । आधिकारिक रुपमा कति जना के-के उपचार गराए कति खर्च हुदैँछ र भयो भन्ने विवरण भने मन्त्रालयसँग छैन ।
प्रहरीका अनुसार शुक्रबारको राजावादीको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५२ जना प्रदर्शनकारीसहित १ सय २९ जना घाइते भएका थिए।
