कुलमान हटाएको विषयमा संसद्‍मा सरकारले जवाफ दिने तर प्रधानमन्त्री ओली नबोल्ने

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

The government will answer in the parliament about the removal of Kulman, but Prime Minister Oli will not speak

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा सरकार संसद्‍मा जवाफ दिन तयार भएको छ । यद्यपि विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली भने आफैं उपस्थित भएर जवाफ भने नदिने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

मुख्य सचेतक बर्तौलासँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारले जवाफ दिए पनि आफू भने नबोल्ने बताएका हुन् । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीचको भेटपछि प्रधानमन्त्री ओलीलाई भेटेका बर्तौला भन्छन्, 'सरकारका तर्फबाट विषय राख्छौँ । हाउसमा उठेका विषयको सरकारले रेस्पोन्स गर्छ । प्रतिपक्षीले मागेअनुसार को आउने को नआउने, को बोल्ने को नबोल्ने भन्ने हुँदैन ।  पीएम सदनमा नआउने भन्ने होइन । कुलमानलाई हटाएको विषयमा अहिले नै हाउसमा प्रधानमन्त्री आउने सम्भावना छैन । तर सरकारले यसमा जवाफ दिन्छ ।'

विपक्षी दलहरूले भने मन्त्रिपरिषद् बैठकबाटै कुलमानलाई हटाउने निर्णय गरिएको भन्दै प्रधानमन्त्री ओली आफैं सदनमा आएर यसबारे स्पष्टीकरण दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन अवरुद्ध गर्ने अडानसमेत राखेका छन् । 

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

यसैबीच आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै कुलमानले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । घिसिङले आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाएर रिट हालेका थिए ।

मन्त्रिपरिषद् बैठकले सोमबार कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।  कुलमानलाई बर्खास्त गरेको विषयलाई लिएर प्रतिपक्ष दलले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully