आज देश-दुनियाँमा के-के भयो ?

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — कुलमान हटाएको विषयले संघीय संसद‍्‍का दुवै सदन स्थगित, कुलमान हटाइएको विषयमा संसद्‍मा जवाफ दिन आवश्यक नभएको प्रधानमन्त्री ओलीको भनाइ, रिट लिएर सर्वोच्च पुगे घिसिङदेखि दक्षिण कोरियाको डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्योसम्मका खबर आज चर्चामा रहे । 

000

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषय संघीय संसद्का दुवै सदनमा चर्किएको छ । कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सदन चल्न नदिने भन्दै विपक्षी दलहरूले अवरोध गरेका छन् । निरन्तरको अवरोधपछि प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । त्यस्तै विपक्षी दलको अवरोधका कारण राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध भयो । 

000

कार्यकाल चार महिना मात्रै बाँकी रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बारेमा प्रमुख प्रतिपक्षी माओवादीसँगै प्रतिपक्षी दलहरूले संसद्मा जवाफ मागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने थप जवाफ दिन आवश्यक नभएको बताएका छन् । 

000

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई पदबाट गैरकानुनी रूपमा हटाएको दाबीसहित कुलमान घिसिङ सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट भने दर्ता भएको छैन । रिट दर्ता नहुँदा बिहीबार भने सुनुवाइका लागि पेसी नचढ्ने भएको छ ।  

000

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब विजयी भएको छ । एपीएफले कोशी प्रदेशलाई २ विकेटले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउँदै २५४ रन बनाएको हो ।  

000

दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ ।

कान्तिपुर

Link copied successfully