काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिपक्षी दलले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । चार महिना कार्यकाल बाँकी रहेका घिसिङलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले बर्खास्त गरेको थियो ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको जवाफ नआएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै अभिएर विरोध गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार सवा १२ बजे बस्ने गरी स्थगित गरेका थिए ।
घिसिङलाई बर्खास्त गरेको विरोधमा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल माओवादी, एकीकृत समाजवादीलगायतले विरोध गरेका थिए ।
आज दिउँसो १ बजेर १५ मिनेटमा सुरु भएको राष्ट्रिय सभाको बैठक प्रतिपक्षी दलका सांसदले अवरोध गरेका थिए । त्यतिबेला १५ मिनेटका लागि स्थगित भएको बैठक फेरि समय परिवर्तन गरी ३ बजेर ४५ मिनेटका लागि तोकिएको थियो ।
उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो ।
