काठमाडौँ — लुम्बिनी प्रदेशको मात्र नभएर यो क्षेत्रका नागरिकको जीवनमा बदलाव ल्याउनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनको विकल्प नरहेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिरोहियाले लगानी प्रतिफल होस् र नागरिकको जनजीविकामा बदलाव ल्याउने सपना बोकेको यो विमानस्थल तत्काल सञ्चालन गर्नुको अर्को विकल्प नरहेको बताएका हुन् ।
‘उपप्रधान तथा अर्थमन्त्री, लुम्बिनीका मुख्यमन्त्री, नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई मेरो विशेष अनुरोध छ– लुम्बिनी मात्रै नभएर देशकै अर्थतन्त्रका लागि महत्त्वपूर्ण योगदान गर्ने यो विमानस्थल सञ्चालनका सबै उपाय लगाइदिनूस्,’ उनले भने, ‘जतिसक्दो छिटो नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको वातावरण बनाइदिनूस् ।’ खासगरी नेपाल सरकारले छिमेकी मुलुक भारतसँग उचित रूपमा कूटनीतिक पहल गरी यस अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटको बन्द बाटो खुला गर्ने वातावरण बनाइदिन उनले सरोकारवालाहरुसँग आग्रह गरे ।
‘लुम्बिनीको सामर्थ्य भनेकै विश्वको सांस्कृतिक मानचित्र हो, बौद्ध धर्मावलम्बीहरुको केन्द्रविन्दु हो । नेपाललाई विश्वमञ्चमा चिनाउने लुम्बिनी यस्तो सांस्कृतिक धरोहर हो, जसले शान्ति र सहअस्तित्वको सन्देश फैलाइरहेको छ,’ उनले भने, ‘शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वसम्पदा सूचीमा समेटिएसँगै यसले नेपालको पर्यटनको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेलेको छ । आन्तरिक मात्र होइन, भारत, श्रीलंका, म्यानमार, थाइल्यान्ड, क्याम्बोडिया, भियतनाम, चीन, कोरिया र जापानदेखि विश्वभरका बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी आस्थाको सर्वोच्च प्रतीक हो ।’ यसले नेपालको पहिचान र प्रतिष्ठा विस्तार गरेको मात्र गरेको छैन, पर्यटकलाई नेपालतर्फ आकर्षित गरेर अर्थतन्त्रमा पनि योगदान गरिरहेको छ । समग्र देशकै अर्थतन्त्रमा लुम्बिनी प्रदेशले तेस्रो स्थानका साथ महत्त्वपूर्ण योगदान गरिरहेको उनले बताए ।
‘सम्पूर्ण सम्भावनालाई हामीले भरपूर उपयोग गर्न सकेका छैनौं । लुम्बिनीको विकासको उडानका लागि सबैभन्दा ठूलो मुद्दा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन’ नै हो । हामीले ऋण लिएर करिब ३६ अर्ब रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न गरेको विमानस्थल तीन वर्षअघि उद्घाटन भएपनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन,’ उनले भने, ‘सरकारले केही सेवा सुविधा दिएर केही हवाई सेवा प्रदायकले यहाँबाट उडान गरे, तर त्यो दिगो हुन सकेन । अब कहिलेबाट पूर्णरुपमा अन्तर्राष्ट्रिय उडान हुन्छ भन्ने समेत निश्चित छैन । सरकारदेखि निजी क्षेत्रले यहाँ गरेको अर्बौं लगानी खेर जाने हो कि भनेर निराशा बढिरहेको छ । त्यसकारण लगानी प्रतिफल होस् र नागरिकको जनजीविकामा बदलाव ल्याउने सपना बोकेको यो विमानस्थल तत्काल सञ्चालन गर्नुको अर्को विकल्प छैन ।’
'तीव्र गतिमा विकास भइरहेको यस प्रदेशलाई केन्द्रीय सरकारका अन्तर सम्बन्धित निकायहरूको सहयोग र प्रदेशमा समेत राजनीतिक स्थिरता भइदिए मुलुकको अर्थतन्त्रमा थप योगदान गर्न सक्छ भन्ने मलाई लागेको छ । किनभने यस प्रदेशको नजिकै अर्थात् छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहारजस्तो विशाल बजार छ,' कृषि, औद्योगिक, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लुम्बिनी अग्रणी रहेको बताउँदै उनले भने ।
‘प्रदेशका १२ वटै जिल्लाका आ–आफ्नै विशेषता छन्, जसमा मैदानी क्षेत्रका ६ जिल्ला कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारीमा अगाडि छन् भने ‘हिल स्टेसन’का रुपमा रहेका ६ जिल्लाले कृषि र पर्यटनको बलियो पृष्ठभूमि बोेकेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सिद्धबाबा सुरुङमार्गले लुम्बिनीमा पूर्वाधारको जगलाई बलियो बनाएका छन्,’ उनले भने, ‘विशाल छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएको यस प्रदेशलाई थप गतिशील हुँदै मुलुककै समृद्धिको संवाहक बन्ने अवसर पनि छ ।’
'यो सहर सुन्दरसँगै यहाँ धेरैभन्दा धेरै पर्यटकको आवागमन होस् भन्ने चाहना पक्कै पनि तपाईंहरुको छ । तर बाहिरबाट यो सुन्दर सहरमा पर्यटक आइपुग्न सारै कष्ट छ । काठमाडौंबाट यहॉ हवाई उडान तोकिएकै समयमा हुँदैन । विमानस्थलमा घण्टौं कुर्नु सामान्य जस्तै भइसकेको छ । सडक मार्गबाट आउनका लागि बुटवल–नारायणगढ सडक ठूलो चुनौती भएको छ,' उनले भने, '९ वर्षदेखि बुटवल–नारायणगढ सडक निर्माण सम्पन्न हुन नसक्नु हाम्रो विकास निर्माणको लापरबाहीको एउटा ठूलो उदाहरण हो । यो सडक खण्डमा पछिल्लो समय प्रगति राम्रो छ, तर विगतमा जस्तै फेरि निर्माणको काम अवरुद्ध नहोला भन्ने आधार छैन ।' लुम्बिनीको पर्यटन विकासका लागि द्रुत गतिमा गाडी गुडाउन मिल्ने गरी यो सडक निर्माणको सुनिश्चितता गर्न आवश्यक रहेको उनले बताए ।
यस्तो छ पूर्णपाठ :
