आज देश-दुनियाँमा के-के भयो ? 

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन नसकिने संघीय मन्त्रालयलाई मेयर बालेनको जवाफदेखि सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनीसम्मका खबर आज चर्चामा रहे ।  

000

भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडेका छन् । उनीहरु नेपाल वायुसेवा निगमको न्यरोबडीबाट भैरहवा हुँदै दुबई जान बुधबार राति काठमाडौंबाट उडेका थिए । भैरहवामा अलपत्र परेका १ सय ४९ यात्रुलाई काठमाडौंबाट फेरी–फ्लाइटमा गएको निगमको दोस्रो (लुम्बिनी) न्यरोबडीले दिउँसो साढे ३ बजे उडाएको निगमका एक उपनिर्देशकले जानकारी दिए । काठमाडौंबाट बुधबार राति साढे १० बजे उडेको निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको थियो । 

000

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन भनी काठमाडौं महानगरपालिकालाई पठाएको पत्रमा महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले प्रतिक्रिया दिएका छन् । प्रमुख शाहले त्रुटिपूर्ण काम गरेको गुरागाईंलाई महानगरमा हाजिर गराएमा अन्य काममा नकारात्मक असर पर्ने र कानुनी झन्झट हुने बताएका हुन् । 

000

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई 'तपाईंको नियुक्ति रद्द किन नगर्ने' भन्दै सफाइ पेस गर्न पत्र पठाएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने गरी स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । 

000

प्रख्यात चिनियाँ ई-कमर्स कम्पनी ‘अलिबाबा ग्रुप’ले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गरेपछि बिहीबार कम्पनीको सेयर मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ । अलिबाबाले 'क्यू डब्लू क्यू- ३२बी' मोडल सार्वजनिक गर्नासाथ हङकङमा कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेर १ सय ४०.५ हङकङ डलर प्रतिशेयर पुगेको छ । डिपसिकको उदयसँगै जागृत भएको चिनियाँ प्रविधि कम्पनीहरूको उत्साहलाई अलिबाबाको एआई मोडलले थप विस्तार गरेको छ । 

000

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइलाई लिएर हमासलाई अन्तिम चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट लेख्दै ट्रम्पले भनेका छन्, ‘इजरायलका लागि म ती सबै कुरा पठाउँदैछु, जो उसलाई काम पूरा गर्नका लागि आवश्यक छन् । यदि मेरो कुरा मानेनन् भने हमासका एक जना सदस्य पनि सुरक्षित हुने छैनन् ।’

कान्तिपुर

Link copied successfully