भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडे

फाल्गुन २२, २०८१

सुरज कुँवर

The 149 passengers who stopped at Bhairahawa flew to Dubai on another narrowbody after 16 hours

काठमाडौँ — भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडेका छन् । उनीहरु नेपाल वायुसेवा निगमको न्यरोबडीबाट भैरहवा हुँदै दुबई जान बुधबार राति काठमाडौंबाट उडेका थिए । भैरहवामा अलपत्र परेका १ सय ४९ यात्रुलाई काठमाडौंबाट फेरी–फ्लाइटमा गएको निगमको दोस्रो (लुम्बिनी) न्यरोबडीले दिउँसो साढे ३ बजे उडाएको निगमका एक उपनिर्देशकले जानकारी दिए ।

काठमाडौंबाट बुधबार राति साढे १० बजे उडेको निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको थियो । 

भैरहवास्थित निगमका कर्मचारीका अनुसार, ती यात्रुलाई निगमकै खर्चमा भैरहवाका ५ वटा होटलमा राति राखेर बिहीबार अर्को जहाजबाट दुबई लगिएको हो । निगमले हाल काठमाडौं-भैरहवा-दुबई तथा मलेसिया-भैरहवा-काठमाडौं अवतरण अनुमति लिएको छ । सोही तालिकाअनुसार बुधबार निगमको न्यरोबडी काठमाडौंबाट भैरहवा अवतरण भएलगत्तै इन्जिनमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु भने बुधबार राति थिएनन् ।

भैरहवामा बिग्रिएको जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सी–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज थियो । जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पीड प्रोटेक्सन इन्डिकेसन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गरेका थिए ।

भैरहवामा निगमका २ जनामात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालय, भैरहवा विमानस्थल कार्यालयका घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरुलाई होटल लैजाने नियमअनुसार बिहान ४ बजेसम्म त्यहाँका विभिन्न होटलमा लगिएको थियो । निगम स्रोतका अनुसार काठमाडौंबाट उड्नुअघि यसको फ्युल मिटर बदलेर करिब २ घण्टा ढिलो उडाइएको थियो । बिग्रिएको न्यरोबडीलाई बिहीबार नै मर्मत गरेर काठमाडौं ल्याउने निगमले जनाएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully