काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन भनी काठमाडौं महानगरपालिकालाई पठाएको पत्रमा महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले प्रतिक्रिया दिएका छन् ।
प्रमुख शाहले त्रुटिपूर्ण काम गरेको गुरागाईंलाई महानगरमा हाजिर गराएमा अन्य काममा नकारात्मक असर पर्ने र कानुनी झन्झट हुने बताएका हुन् ।
प्रमुख शाहले बिहीबार मन्त्रालयमा पठाएको पत्रमा भनेका छन्, ‘भवन मापदण्ड तथा भवन संहिता मेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन रहेको विषयमा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजनालगायत अन्य कार्यहरू समेतमा नकरात्मक प्रभाव पर्ने र कानुनी झन्झट हुने देखिन्छ ।’
प्रमुख शाहले मन्त्रालयलाई उक्त कार्यको जिम्मा लिन, स्थानीय सरकार सञ्चालन ऐन, संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई महानगरको कार्यालय सञ्चालनमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण मिलाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको थियो । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी गुरागाईंलाई महानगर प्रमुख शाहले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए । महानगर प्रमुख शाहले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूटा लाञ्छनासमेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।
