सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Trump warns that no Hamas member will be safe unless all hostages are released immediately

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइलाई लिएर हमासलाई अन्तिम चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट लेख्दै ट्रम्पले भनेका छन्, ‘इजरायलका लागि म ती सबै कुरा पठाउँदैछु, जो उसलाई काम पूरा गर्नका लागि आवश्यक छन् । यदि मेरो कुरा मानेनन् भने हमासका एक जना सदस्य पनि सुरक्षित हुने छैनन् ।’

यस्तै उनले सबै बन्धकलाई एकैसाथ रिहा गर्न पनि भनेका छन् । ट्रम्पले अघि लेखेका छन्, ‘यदि बन्धकलाई रिहा गरिएन भने हमासले यसको भारी मूल्य चुकाउनुपर्नेछ।’ यद्दपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भन्ने स्पष्ट छैन । 

उनले बन्धकलाई एकैसाथ रिहा मात्र नभइ मृतकहरुको शव पनि तुरुन्त फर्काउन चेतावनी दिएका छन् । ‘सबै बन्धकलाई तत्काल रिहा गर । पछि हुँदैन र जसलाई मार्नुभएको छ उनीहरुको शव पनि तत्कालै फर्काउनुहोस् । नत्र सबै नष्ट हुनेछ,’ चेतावनी दिँदै ट्रम्पले लेखेका छन् । 

उनले यो अन्तिम चेतावनीसमेत रहेको र हमास नेतृत्वले अब गाजा छोड्ने समय आइसकेको बताएको बीबीसीले उल्लेख गरेको छ । 

उनले भनेका छन्, ‘गाजाका नागरिककका लागि एक सुन्दर भविष्य कुरिरहेको छ ।  तर अब तपाईंहरु बन्धकलाई राख्न सक्नुहुन्न । यदि मान्नुभएन भने तपाईंहरुको अन्त्य हुनेछ ।’

ट्रम्पको यो धम्की ह्वाइट हाउसमा इजरायली बन्धकको एक समूहसँगको भेटपछि आएको हो । उनीहरुलाई हालै युद्धविरामका बेला रिहा गरिएको थियो ।

कान्तिपुर

Link copied successfully