अलिबाबाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल, सेयर मूल्यमा वृद्धि

चिनियाँ प्रविधि कम्पनीहरूमा उत्साह कायमै

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Alibaba unveils new AI model, shares rise

काठमाडौँ — प्रख्यात चिनियाँ ई-कमर्स कम्पनी ‘अलिबाबा ग्रुप’ले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गरेपछि बिहीबार कम्पनीको सेयर मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ । अलिबाबाले 'क्यू डब्लू क्यू- ३२बी' मोडल सार्वजनिक गर्नासाथ हङकङमा कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेर १ सय ४०.५ हङकङ डलर प्रतिशेयर पुगेको छ । डिपसिकको उदयसँगै जागृत भएको चिनियाँ प्रविधि कम्पनीहरूको उत्साहलाई अलिबाबाको एआई मोडलले थप विस्तार गरेको छ ।

अलिबाबाका अनुसार पर्फरमेन्स (कार्य सम्पादन) का हिसाबले क्यू डब्लू क्यू- ३२बी मोडल डिपसिकको आर-वान मोडलजत्तिकै शक्तिशाली छ । यो डिपसिकभन्दा कम ऊर्जा र लागतमा निर्माण भएको कम्पनीले जनाएको छ । डिपसिकजस्तै यो पनि ओपेन सोर्स प्रोजेक्ट हो अर्थात् यसको सोर्स कोर्ड सार्वजनिक गरिएको छ । अधिकांश ठूला प्रविधि कम्पनीहरूले आफ्ना सोर्स कोड सार्वजनिक गर्दैनन् । 

अलिबाबाको हङकङस्थित सेयर मूल्य र न्यूयोर्कस्थित क्रस लिस्टिङ मूल्य यस वर्ष हालसम्म करिब ७० प्रतिशतले वृद्धि भएको बिजनेस इन्साइडरले जनाएको छ । अहिले कम्पनीको बजार मूल्य ३ सय १७.७ अर्ब डलर छ । गत महिना अलिबाबाले अमेरिकी कम्पनी एप्पलसँग मिलेर चीनका आइफोनहरूमा एआई सुविधा थप्न सहकार्य गरिरहेको खबर बाहिरिएपछि कम्पनीको सेयर मूल्य उकालो लागेको थियो । पछि दुबै कम्पनीले उक्त खबर सही भएको पुष्टि पनि गरे । 

त्यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका ठूला प्रविधि उद्यमीहरूसँग भेटघाट गरेपछि पनि अलिबाबाको सेयर मूल्यमा वृद्धि भएको थियो । सीले अलिबाबाका संस्थापक ज्याक मा, टेन्सेन्टका सीईओ पोनी मा र इलेक्ट्रिक कार निर्माता बीवाईडीका प्रमुख कार्यकारी अधिकृत वाङ छुआनफु लगायतका प्रविधि उद्यमीहरूसँग भेट गरेका थिए । 

पछिल्ला वर्षहरूमा सरकारको कडा निगरानीका कारण सुस्ताएका चिनियाँ प्रविधि कम्पनीहरू पुनः जुर्मुराउन थालेका छन् । डिपसिकको आगमनले चिनियाँ प्रविधि बजारमा नयाँ आशा जागृत भएको छ । सीले प्रविधि उद्यमीसँग भेट गरेपछि सरकार यस क्षेत्रको पुनरुत्थानमा इच्छुक रहेको संकेत पनि देखिएको थियो ।

अलिबाबाले आगामी तीन वर्षमा क्लाउड कम्प्युटिङ र एआई पूर्वाधारमा कम्तीमा ३ सय ८० अर्ब चिनियाँ युआन (५३ अर्ब डलर) लगानी गर्ने घोषणा गरेको छ । डिपसिकको सफलताले चीनमा क्लाउड प्रविधिमा ठूलो लगानीलाई प्रेरित गरेको छ । 

गत महिना गोल्डम्यान स्याक्सका विश्लेषकहरूले डिपसिक आर-वान मोडलले चिनियाँ प्रविधि क्षेत्रको माहोल परिवर्तन गरिदिने बताएका थिए । अलिबाबाले आफ्नो एआई मोडलमा डिपसिकको भन्दा पाँच गुणा कम प्यारामिटर भएकाले निकै कम ऊर्जा खपत गरेर प्रभावकारी नतिजा दिने दाबी गरेको छ । डिपसिकमा ६ सय ७१ अर्ब प्यारामिटर रहेकोमा अलिबाबाको मोडलमा ३२ अर्ब प्यारामिटर छन् । यो प्रविधि अलिबाबाको क्वेन नामक एआई युनिटले बनाएको हो ।  

चीन सरकारले एआई, ह्युमानोइड रोबट र सीक्स जी दूरसञ्चार सेवा प्रदान गर्ने उद्योगहरूलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको भोलिपल्टै अलिबाबाले आफ्ना नयाँ एआई मोडल सार्वजनिक गरेको हो । चीनमा यस्ता एआई मोडेलहरू विभिन्न सरकारी निकाय र साना कम्पनीहरूमा समेत बढ्दो रूपमा प्रयोग गर्न थालिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully