मकवानपुर — मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हेटौंडा वडा नम्बर १२ को अध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले सोमबार बिहान जारी गरेको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार तिवारीले २ हजार ६३ मत प्राप्त गरी जित हासिल गरेका हुन् ।
हेटौंडा १२ को अध्यक्षको निर्वाचनमा दोस्रो भएका माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५६० मत प्राप्त गरेका छन् भने तेस्रो भएका एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
हेटौंडा १२ को अध्यक्षका राप्रपा उम्मेदवार प्रेमबहादुर भोलनले १७८, रास्वपाका आशाविर बलले ८३, एकीकृत समाजवादीका बलराम बलले ७३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए ।
वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए ।
