काभ्रेका १३ पालिकाका १८८ विद्यालयमा बाढीपहिरोले क्षति
काभ्रे — पनौती–१२ कलाँती घिसिङस्थित इन्द्रादेवी आधारभूत विद्यालयको चौरमा आइतबार बिहान ११ बजेतिर बालबालिका दुई समूहमा चकटी बिछ्याएर बसिरहेका थिए । त्यहाँ न डेस्क–बेन्च थिए न त बोर्ड र भित्तेचित्र ।
गत असोज दोस्रो साताको बाढीपहिरोले भवनसहित डेस्क–बेन्च सबै पुरिएपछि बिदाका बेला शिक्षकहरूले धोइपखाली गरेका कार्पेट र चकटीको जोहो गरेर भुइँमै बसाएर कक्षा सञ्चालन गर्नुपरेको हो ।
विद्यालयले एउटा समूहमा नर्सरी, अर्को समूहमा केजी र दुई कक्षाका विद्यार्थीलाई एकैसाथ राखेर पढाइरहेको छ । छेउको कलाँती खोलामा आएको बाढीले विद्यालयको अगाडिको परिसरमा लेदो थुप्रिएको छ । विद्यालयको पछाडिपट्टि पहिरो खसेर कक्षाकोठा पुरिएका छन् ।
भवन, फर्निचरलगायत सामग्रीमा बाढीले क्षति पुर्याएर कक्षा सञ्चालन गर्ने स्थान नभएपछि चौरमा पढाइ गर्नुपरेको हो । विद्यालयको अगाडि बाढी र पछाडिपट्टि पहिरोको जोखिम कायमै छ । पाँच वटा भवनमध्ये बाढीपहिरोले ३ वटामा क्षति पुर्याएको छ । भूकम्पपछि बनाएका २ वटा अस्थायी सिकाइ केन्द्रलाई मर्मत तथा सरसफाइ गरेर आधारभूत तहसम्मको पढाइ सुरु गरिएको छ ।
असोज दोस्रो साताको बाढीले कक्षा ६ मा अध्ययनरत मन्जिल तामाङको घर, पसल, गोठ सबै बगायो । सँगै उनका किताबकापी, पोसाक र झोला पनि लग्यो । दसैंतिहारको लामो बिदापछि कक्षा सुरु हुन लाग्दा उनलाई चिन्ता थियो, ‘किताबकापी, ड्रेस, ब्याग केही छैन, कसरी स्कुल जाने ? के पढ्ने ?’ गत शुक्रबारदेखि विद्यालय खुलेको हो । शुक्रबार किताबकापी, ड्रेस, ब्यागबिनै मलिन अनुहार लिएर मन्जिल स्कुल पुगेका थिए ।
शिक्षकहरूले सबै व्यवस्था गरिदिन्छौं भनेपछि उनी आइतबारदेखि खुसी भएर विद्यालय आएका थिए । ‘हामीसँग त अहिले केही छैन, घर पनि छैन, बाढीले सबै बगाएर लग्यो,’ उनले भने, ‘एक जना सरको घरमा बस्दै आएका छौं, किताब, ड्रेसहरू स्कुलबाटै दिने भन्नुभएको छ, कापी र पेन्सिल स्कुलबाटै दिनुभएको छ ।’ कक्षा ७ मा अध्ययनरत अभिषेक तामाङसँग पनि कापीकिताब, विद्यालय पोसाक र झोला छैन । विद्यालयले सबै व्यवस्थापन गरिदिने भएपछि उनी आइतबारदेखि पढ्न आएका छन् ।
विद्यालयले बाढीपहिरोले चिराचिरा परेकै कोठामा अस्थायी सिकाइ केन्द्र (टीएलसी) का रूपमा प्रयोग गरेर कक्षा सञ्चालन गरिरहेको छ । भवन पछाडिपट्टि पहिरो झरेर झ्यालसम्मै पुगेको छ । कोठाबाट अगाडि–पछाडि, दायाँबायाँ सबैतिर क्षतविक्षत भएका दृश्य देखिने भएकाले कक्षामा बसेर पढिरहँदा पनि त्रास भइरहने ८ कक्षामा अध्ययनरत प्रवेश हुमागाईंले बताए । ‘विद्यालयको जता हेरे पनि चिरा परेको देखिन्छ, कतिबेला केही हुने हो कि डर लाग्छ,’ उनले भने, ‘कक्षा त सुरु भयो, पहिले जस्तो ध्यान दिएर पढ्न सकेका छैनौं ।’ कक्षा ७ मा अध्ययनरत क्रिस्टल केसीलाई विद्यालय खुलेकोमा खुसी लागेको छ । तर बाढीपहिरोले बाटो बिग्रेकाले समयमै विद्यालय आउन नसकेको उनले बताइन् ।
शिक्षिका धनकुमारी दाहालले विद्यालयको भौतिक अवस्थाका कारण बालबालिकालाई चौरमा राखेर पढाइरहे पनि पानी परिहाले विकल्प नभएको बताइन् । ‘बाहिर राखेर पढाउन निकै कठिन छ,’ उनले भनिन्, ‘चर्को घाम लागे पोल्छ, पानी पर्यो भने कहाँ पढाउने हो ?’ विद्यार्थी–शिक्षकसँगै अभिभावकलाई पनि चिन्ता उस्तै छ । ‘पढाइ छुट्छ भनेर स्कुल पठाएका हौं,’ अभिभावक उद्धव हुमागाईंले भने, ‘बाढीपहिरोको प्रभाव र विद्यालय परिसरको दृश्यले पनि उनीहरूमा त्रास देखिन्छ, चाँडो पुनर्निर्माण सकेर पठनपाठन गराउन आवश्यक छ ।’
उक्त विद्यालयमा ९२ विद्यार्थी अध्ययन गर्छन् । प्रधानाध्यापक कृष्णप्रसाद हुमागाईंका अनुसार विद्यालयमा तत्कालै २ कोठाका २ वटा अस्थायी सिकाइ केन्द्र (टीएलसी) निर्माण आवश्यक छ । यसका लागि बजेट व्यवस्थापन भइसकेको र तयारीका लागि छलफल भइरहेको उनले बताए । उनका अनुसार बाढीपहिरोले विद्यार्थीलाई मानसिक असर परेको देखिन्छ, जसका कारण उनीहरूले राम्रोसँग पढ्न सकिरहेका छैनन् । विद्यार्थीका लागि मनोसामाजिक परामर्शको आवश्यक भएको उनले बताए ।
बेथानचोक–२ स्थित ढुंखर्कको बालहित आधारभूत विद्यालय पनि मर्मतसम्भार गरेर सञ्चालन भएको प्रधानाध्यापक हुद्धराज तिमिल्सनाले बताए । ‘पहिरोले क्षति पुर्याएकाले असोज १३ गतेदेखि नै विद्यार्थीमा पढ्न नपाउने पो हो कि भन्ने चिन्ता थियो,’ उनले भने, ‘विद्यालयले सबै मर्मत सकेरपठनपाठन थालेको छ ।’ काभ्रेका १३ पालिकामा ५ सय ८ सामुदायिक, ९६ संस्थागत र दुई वटा धार्मिक गरी ६ सय ६ विद्यालय छन् । शिक्षा विकास समन्वय इकाइका अनुसार असोज दोस्रो साताको बाढीपहिरोले जिल्लाका १ सय ८८ विद्यालयमा क्षति पुगेको छ ।
