फिक्कल, सिन्धुली — गत असोज १२ मा सुनकोशी नदीमा आएको बाढीले घरखेत बगाएपछि विस्थापित बनेका फिक्कल गाउँपालिका–६ रत्नावतीका दिलबहादुर र सुन्तली माझी अहिले थातथलोमा फर्किएर ओत लाग्ने झुपडीको जोहो गर्दै छन् ।
झन्डै चार रोपनी खेतबारी, घरगोठ र बस्तुभाउ बाढीले बगाएपछि उनीहरू विस्थापित भएका थिए । अहिले फर्किएर बालुवाको थुप्रोमा टहरो बनाएर जसोतसो गुजारा चलाइरहेका छन् । नदी किनारमा बाढीले बगाएर ल्याएका काठ जोरजाम गरेर प्लास्टिकको छानो हालेर झुपडी बनाएका छन् ।
तीन लालाबालासहितका माझी दम्पत्तीले दिन त जसोतसो कटाएका छन्, तर राति सुनकोशी सुसाउँदा बेला बेलामा झस्किने गर्छन् । बाढीले खेत कटान गरेर घर नजिक आउन थालेपछि लालाबाला लिएर डाँडा उक्लिएका उनीहरू बाढीले सबै जायजेथा स्वाहा पारेको टुलुटुलु हेर्नुबाहेक केही गर्न नसकेको बताउँछन् । ‘दिनमा आएको बाढीले घरखेत बगायो, ज्यान भने धन्न जोगिएको छ,’ सुन्तलीले भनिन्, ‘रातमा बाढी आएको भए कोही नरहने रहेछौं ।’ अचानक बाढी पसेपछि खोरमा भएको सुँगुरसमेत निकाल्न नपाएको उनले सुनाए ।
‘डाँडामा बसेर घरखेत, गोठमा भएका बस्तुभाउ सबै बगाएर लगेको आफ्नै आँखाले हेर्नुपर्यो, बाउबाजेले बिताएको यो ठाउँमा यसअघि कहिल्यै यति ठूलो बाढी आएको थाहा थिएन,’ दिलबहादुरले भने, ‘हामी परिवारका पाँच जनाबाहेक अब हाम्रो केही रहेन ।’ संघसंस्थाले दिएको राहत र छिमेकीसँग मागेर दसैं जसोतसो मनाएको उनले सुनाए । ‘अब दैनिकी कसरी चलाउने भन्ने पिरलो छ । सरकारले घर बनाउने पैसा दिए अरू त दुःखजिलो गरेर खाने थियौं,’ माझी दम्पतीले भने ।
बाढीपहिरोको निरीक्षण तथा स्थानीयसँग भेटघाट गर्न पुगेका संघीय सांसद तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग अर्का बाढीपीडित बाबुराम मिश्रले गुनासो गरे, ‘खेत सबै बगायो, अब के खाएर पाँच जनाको परिवार पाल्ने ?’ फिक्कल गाउँपालिका–२ सुम्नामबेंसीमा रहेको तीन रोपनी खेत चिनोमानो नराखी सुनकोशीको बाढीले बगाएपछि उनी दैनिक बगर बनेको खेत हेरेर भक्कानिन्छन् । ७ वर्षअघि १७ लाख रुपैयाँमा धानखेत खरिद गरेका मिश्रले त्यतिबेला लिएको ऋण अझै तिरिनसकेको बताए । ‘१८ मुरी धान फल्ने खेत सबै बगर भयो,’ उनले भने, ‘अब खाने के, ऋण कसरी तिर्ने ? तीन बाली अन्न फल्ने सबै खेत स्वाहा भयो ।’
मध्यपहाडी लोकमार्गको खुर्कोटदेखि घुर्मीसम्मको ६१ किलोमिटर सुनकोशी नदी तटीय क्षेत्रमा बाढीले सयौं किसानको उठीबास लागेको छ । १२ मुरी धान फल्ने खेत बगाएपछि अब खानका लागि कुनै उपाय नभएको भन्दै सुम्नामवशीकै होमकुमारी पहाडीले बिलौना गरिन् । ‘हामी बूढाबूढी मात्रै छौं,’ उनले भनिन्, ‘छोरीको बिहे भइसक्यो, भएको एउटा छोरो पनि बित्यो । अहिलेसम्म यही खेतले पालेको थियो, अब के खानू ?’ अब आफूहरूको सरकारसँग गुहार माग्नुबाहेक कुनै उपाय नरहेको पनि उनले सुनाइन् ।
सिन्धुलीमा बाढीपहिरोले ८ सय ५७ हेक्टरमा लगाएको धानबाली नष्ट गरेको सरकारी तथ्यांक छ । त्यसमध्ये गोलन्जोर र फिक्कलमा मात्रै ७५ हेक्टरमा लगाएको धानबाली सुनकोशी एवं अन्य खोलाले बगाएर पूर्ण क्षति भएको छ । राहतमा कोही नछुटून्, कोही नदोहोरिऊन् भन्ने नीति अपनाएर राहत वितरणको थालनी गरेको प्रजिअ लीलाप्रसाद शर्माले बताए । ‘एकद्वार प्रणालीबाट राहत वितरण सुरु भएको छ,’ उनले भने, ‘अन्नबाली क्षति तथा खेत बगेकाहरूलाई निर्देशिकाअनुसार नै राहत दिइनेछ ।’
