भूकम्पले लडाएको घर एउटा संस्थाले बनाइदिएको थियो, त्यो पनि पहिरोले लग्यो, दुई छोरी त्यसैमा पुरिए, अहिले सानो नातिलाई स्याहारसुसार गर्ने पनि कोही छैन : कान्छा सापकोटा, सगुनका हजुरबुबा
काभ्रे — पाँच वर्षीय सगुन एक छेउमा साथीहरूसँग खेलिरहेका छन् । कहिले नजिकै रहेका आफन्तसँग लुटपुटिन्छन् । सगुन साथीसँग खेलेको, आफन्तको काखमा लुटुपुटु गरेको देख्नेहरूले असोज १२ को घटनालाई केही बेर भुल्छन् । खासमा असोज १२ सगुनको जन्मदिन हो तर उनले आमा गुमाएको दिन पनि त्यही बन्यो ।
असोज १० मा सगुन उनकी आमा सविता सापकोटासँग पनौती–१ र्याले, आश्रामे डाँडास्थित मामाघर आएका थिए । असोज ११ देखि परेको पानी असोज १२ को बिहानसम्म पनि एकतमासले दर्किरहेको थियो । रातभर परेको पानीले पहिरोको जोखिम बढ्दै गएपछि गाउँका सबै ज्यान जोगाउन घरबाट बाहिर निस्किन थाले । सगुन हजुरआमा शान्ता सापकोटासँगै अर्को घरमा सुतेका थिए ।
सगुन पनि हजुरआमासँगै घरबाट बाहिर निस्किए । पल्लो घरमा सुतिरहेकी आफ्नी आमा सविता र सानीआमा रश्मिता भएको ठाउँमा उनीहरू जाँदै थिए । आमा भएको ठाउँमा नपुग्दै पहिरो खस्यो । सगुनकी आमा र सानिमा त्यहीं पुरिए । सगुनसँगै गएकी उनकी हजुरआमा २ छोरीलाई जोगाउन सकिन्छ कि भनेर घरतर्फ लम्किइन् । उनलाई पनि पहिरोले थिच्यो । पहिरोमा पुरिएर सगुनकी आमा सविता र सानीआमा रश्मिताको त्यहीं मृत्यु भयो । हजुरआमा गम्भीर घाइते भइन् ।
यो दृश्यको साक्षी थिए नाबालक सगुन । प्रत्यक्ष देखेको घटना उनको स्मरणबाट हराएको छैन । आफ्नी आमालाई उनी ‘सबी आन्टी’ भनेर बोलाउँथे । सगुनको कारुणिक अवस्थाबारे थाहा पाएर भेट्न आउने जोकोहीलाई उनी आफैं घटनास्थल देखाउँदै ‘मेरो सबी आन्टीलाई यहाँ पहिरोले पुर्यो नि’ भन्छन् ।
आफन्तले उनलाई त्यहाँबाट अन्यत्रै लान खोजे पनि उनी कतै जान मान्दैनन् । पहिरोले आमालाई पुरिएको ठाउँमा हेर्छन् अनि भन्छन्, ‘मेरो सबी आन्टी यहीं हुनुहुन्छ है ?’
सगुनले जन्मदिनकै दिन आफ्नी आमा गुमाए, त्यो सँगै उनले आफ्नो बुबा चिन्ने आशा पनि गुमाए । किनभने उनको बुबाको पहिचान छैन ।
कामको सिलसिलामा काठमाडौंमा पुगेकी सविता सापकोटा प्रेमसम्बन्धमा परिन् । उनी गर्भवती भएपछि उनका प्रेमी सम्पर्कविहीन भए । त्यसपछि सविता गाउँ फर्किइन् । २०७६ असोज १२ मा सगुनलाई जन्म दिइन् । केही वर्ष गाउँमै बसेपछि छोराको भविष्यका लागि भनेर उनी काठमाडौं गइन् ।
सविता काठमाडौंको नयाँ बानेश्वरमा घर सरसफाइको काम गर्थिन् । घरधनी विदेश जाने भएपछि नफर्किएसम्मका लागि उनी गाउँ आएकी थिइन्, जहाँ उनले २ रातभन्दा बढी बिताउन पाइनन् ।
सविताको माइतीघरको आर्थिक अवस्था निकै कमजोर छ । सविताका बुबा कान्छा सापकोटाले भारी बोकेर, ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । भूकम्पले पनि उनको घर लडाएको थियो । ‘एउटा संस्थाले बस्ने घर बनाइदिएको थियो । त्यो पनि अहिले पहिरोले लग्यो,’ कान्छाले भने, ‘दुई छोरी पनि पहिरोमै पुरिए ।’ पहिरोमा परेपछि उनकी श्रीमती शान्ताको कम्मरभन्दा तलको भाग चल्दैन । उसलाई स्याहारसुसार गर्ने कोही छैन । सानो नातिलाई हेरविचार गर्ने पनि कोही नभएको कान्छाले बताए ।
कान्छा अहिले दाजुको जीर्ण घरमा बसेका छन् । बुबाको पहिचान नभएकै कारण सगुनको जन्मदर्ता पनि भएको छैन । सगुनको जन्मदर्ता गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिदिने पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले बताएकी छन् । ‘कागज बन्यो भने पनि यसलाई भविष्यमा सजिलो होला,’ कान्छाले भने, ‘नभए त यसले पछि झन् धेरै दुःख पाउँछ ।’
