काभ्रे र सिन्धुली — असोज ११ गते धरानबाट काठमाडौंका लागि २० जना यात्रु लिएर हिँडेका सर्व मगर काठमाडौंसम्म पुग्नै पाएनन् । असोज १० देखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बीपी राजमार्गका दर्जनौं ठाउँ अवरुद्ध भए । २० यात्रुसहित उनी बीपी राजमार्गस्थित मंगलटारमै अड्किए ।
निरन्तरको वर्षाले अगाडि बढ्न नसकेपछि शुक्रबारदेखि उनीहरू राजमार्ग नजिक रोशी खोला किनारमा बसिरहेका छन् । मंगलटार क्षेत्रमा मात्रै करिब ६ सय गाडीहरू रोकिएका थिए । उक्त स्थानमा पसलहरू पनि सीमित मात्रै रहेकाले अधिकांश सामान शुक्रबार नै सकिएको थियो ।
‘किनेरै खानका लागि पनि केही पाइएन, पानीसमेत पिउन नपाएर बिरामी नै परें,’ मगरले भने, ‘बिरामी परेकैले म उद्धारमा गएको सेनाको हेलिकोप्टर चढेर काठमाडौं आएँ ।’ उनका अनुसार शरीरमा पानी नपुगेका कारण पिसाबको संक्रमणसँगै अन्य समस्या पनि देखिएको थियो । औषधोपचार गराएपछि उनी गाडी लिन पुन: मंगलटार आएका थिए । ‘साथीसँग गाडीमा चौकीडाँडासम्म आएँ । त्यहाँबाट ८ घण्टा हिँडेर मंगलटार पुगियो,’ उनले भने । त्यहाँ आफूले भोगेको अरु दु:ख सम्झन पनि चाहेनन् । ‘त्यहाँको स्थिति निकै नै दर्दनाक थियो,’ भने, ‘सम्झिँदा पनि विरक्त लाग्छ । कसरी भन्ने, के भन्ने ? त्यहाँ १० दिन कसरी बितायौं भनेर हामीलाई मात्रै थाहा छ ।’
त्यहाँ बस्न नसक्ने स्थिति देखेपछि कतिपय दोस्रो/तेस्रो दिनदेखि हिँडरै काठमाडौं पुगेका थिए । तर, उनलाई भने बस रुँघेर बस्नुको विकल्प थिएन । ‘गाडी छाडेर जान मिलेन, नत्र त भोकैप्यासै त्यस्तो ठाउँमा बस्न कहाँ मन थियो र ?,’ उनले भने, ‘बाटो कहिले खुल्छ भन्दाभन्दै त्यत्तिका दिन बस्यौं ।’
बीपी राजमार्गमा फसेका सवारीलाई वैकल्पिक मार्ग हुँदै काठमाडौं पठाइने भएपछि उनी शनिबार मंगलटारबाट काठमाडौं हिँडेका थिए । शनिबार साँझ हिँडेकी उनी बीपी राजमार्गअन्तर्गत वैकल्पिक बाटोबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका–७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे हुँदै आइतबार दिउँसो काभ्रेभन्ज्याङ आइपुगेका थिए । ‘जेनतेन यहाँसम्म आइपुगियो, रोशी खोला बढिरहेकाले खोला पार गर्न उत्तिकै सकस थियो,’ उनले भने, ‘खोला पार गरेर तेमाल जाने बाटो हुँदै गर्दा निकै कठिन भयो, हिलाम्मे बाटोमा बस फस्यो । डोरीले तान्दै वनको बाटो लागियो । भकुण्डे आइपुगेपछि बल्ल राम्रो बाटो आयो र यहाँसम्म सकुशल आइपुगियो ।’
000
असोज १० देखि परेको पानी शुक्रबार पनि परिरहेकै थियो । खराब मौसमका कारण सबै उडान रद्द भएपछि बीपी राजमार्ग हुँदै इटहरी जानका लागि ५ यात्रुलाई लिएर नकुल फुयाँल असोज ११ मा काठमाडौंबाट हिँडेका थिए । बाढीपहिरोले सडक अवरुद्ध भएपछि मंगलटारमै रोकिए । शनिबार साँझबाट पानी त रोकियो । तर, बाटो अझै खुलेन । पर्खंदापर्खंदै १० दिन बित्यो । यात्रुहरू आइतबार नै आफ्नो बाटो लागे । तर, फुयाँल भने बाटो खुल्ने आशामा पर्खिरहे । ‘बाटो खुल्छ होला भन्दै खोला बगरमा बस्नुबाहेक अर्को विकल्प थिएन,’ उनले भने, ‘दिनरात उर्लेको खोला हेर्यो बस्यो । हेर्दाहेर्दै दुईवटा गाडी खोलाले बगायो ।’
फुयाँलका अनुसार शनिबार स्थिति झनै भयाभह भयो । खोलामा पानी बढ्यो कि उनीहरू भागेर डाँडामाथि गएर बस्थे । त्यहाँ पनि पहिरो आउने डर उस्तै थियो । ‘तल बाढीको डर, माथि पहिरोले पुर्ने डर । न खानको ठेगान, न त पिउने पानी नै थियो । तिर्खा लागेपछि खोलाकै धमिलो पानी खायौं,’ उनले भने, ‘यस्तो दु:ख जिन्दगीमा पहिले कहिल्यै भोग्नुपरेको थिएन ।’
000
काठमाडौंका अर्जुन परियारले बीपी राजमार्ग हुँदै सवारी चलाएको ८ वर्ष भयो । तर यस्तो दुर्दशा पहिले कहिल्यै भोगेका थिएनन् । ‘एकाध घण्टा जाम हुनु त स्वाभाविक नै हो,’ उनले भने, ‘तर अहिले जस्तो त कहिल्यै देखिनँ । १० दिनसम्म जाममा फस्नु भनेको सानो कुरा होइन नि ।’ असोज ११ मा काठमाडौंबाट संखुवासभाका लागि यात्रु लिएर हिँडेका उनी बीचमा नै अड्किएका थिए । परियार पनि मंगलटार कट्न सकेनन् । भने, ‘शुक्रबार र शनिबार त केही खानै पाएनौं । आइतबारबाट पानी र चाउचाउ भए पनि पायौं । त्यसकै भरमा बाढीपहिरोको त्रास बोकेर १० दिन कटायौं ।’
000
चालक बालकुमार राईलाई बितेको १० दिन सम्झँदा अत्यास लाग्छ । कैयौं घुम्तीहरू पार गर्दै, यहाँसम्म आइपुगेका उनलाई यसपटक भने बिर्सनलायक अनुभव भयो । काठमाडौंबाट ताप्लेजुङतर्फ हिँडेका राई पनि मंगलटारमै रोकिएका थिए । ‘किनेर केही खान बजार पनि थिएन, स–साना पसलमा पनि सामान केही थिएन,’ भने, ‘२ दिनसम्म भोकैप्यासै खोला किनारमा बस्यौं । नेपाली सेनाको हेलिकोप्टरमा केही खानेकुरा र पानी आयो, त्यसले केही राहत भयो ।’ अलपत्र बस्नुभन्दा बाटो खुलाउनेतिर केही चालक, सहचालक लाग्न थाले ।
‘खोलाबाट ढुंगा ओसार्यौं, बाटो बनाउन खोज्यौं । तर सकिएन,’ राईले भने, ‘तत्कालै बाटो खुल्न सक्ने स्थिति नभएपछि राजमार्गमा फसेका केही सवारी वैकल्पिक बाटो हुँदै भकुण्डेबाट यहाँसम्म आइपुग्यौं ।’
000
काठमाडौंबाट पूर्व आवत–जावतका लागि अत्यधिक प्रयोगमा रहेको बीपी राजमार्ग गत साताको बाढीपहिरोले बन्द छ । चौकीडाँडादेखि कालढुंगासम्मको १८ किमि सडक खण्डमध्ये करिब १२ किमि सडक बाढीले पूर्णरूपमा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए । उनका अनुसार, उक्त खण्डमा सवारी आवागमन सञ्चालनमा ल्याउन लामो समय लाग्ने देखिए पनि केही विकल्प भने देखिएका छन् । राजमार्गको वैकल्पिक बाटोबाट भए पनि फसेका सवारीसाधन निकाल्नका लागि काम भइरहेको उनले बताए ।
बीपी राजमार्गमा अलपत्र अवस्थामा परेका करिब ७ सय सवारीसाधनमध्ये ३० वटालाई वैकल्पिक मार्गबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख उपरीक्षक वसुन्धरा खड्काले जानकरी दिइन् । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका–७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे, धुलिखेल हुँदै काठमाडौं पठाइएको उनले बताइन् । उनका अनुसार अझै ४/५ ठाउाँमा ह्युम पाइप राखेर बाटो खुलाउने प्रयास भइरहेको छ ।
चालक हिँडे, सयौं सवारी माम्ती–चौकीडाँडामा
बीपी राजमार्गअन्तर्गत काभ्रेको मंगलटारनजिक कालढुंगामा १० दिनदेखि अड्किएका दमकका इन्द्र खड्का उद्धार हुने छाँट नदेखेपछि पैदलै नेपालथोक आएर घरतर्फ लागेका छन् । सडक क्षत्विक्षत् भएर गन्तव्यतर्फ जान नसकेपछि मंगलटार र आसपासका क्षेत्रमा अहिले पनि सयौं सवारीसाधन अड्किएका छन् । ७ किमि भीरपहारा छिचोल्दै रोशी किनार भएर घरतर्फ लागेका चालक खड्कालाई रोशी गाउँपालिकाको माम्ती नजिक भेट्दा थकित देखिन्थे । भोकप्यासै १० दिन गाडी रुँगेर बिताएका उनी उद्धार हुन नसक्ने देखेपछि गाडीको माया मारेर दसैं मान्न घरतीर लागेका रहेछन् । ‘सानो खोला तारेर मंगलटार चौकीनजिक सुरक्षित स्थानमा सवारी राखौं भन्दा पनि सकिएन,’ उनले भने, ‘गाडीको माया मारेर हिँडे । नजिकैको प्रहरी चौकीलाई जिम्मा लिइदेउन भन्दा पनि वास्ता गरेन ।’
सरकारले केही यात्रुको हेलिकोप्टरमार्फत उद्धार गरे पनि धेरैजसो भीरपहरा छिचोल्दै ज्यान जोखिममा पारेर हिँडेरै गन्तव्यतर्फ लागेका छन् । कष्ट खेप्दै १० दिन गुजारेका चालकहरू पनि खोलाको पानी खाएर कतिपयलाई झाडापखाला लागेपछि ‘अब ज्यान फाल्न हुँदैन’ भनेर पैदलै घर जाने भनेर हिँडेको चालक खड्काले सुनाए । ट्रकचालक उदयपुरका अर्जुन दनुवारको व्यथा पनि उस्तै छ । चौकीडाँडाभन्दा तल फसेका उनी ७ घण्टा हिँडेर माम्ती आइपुगेका थिए । ‘सादा खानाको चार सय, एउटा चाउचाउको एक सय रुपैयाँ तिरेर कति दिन गुजार्नु ? जे होला भनेर सवारी छोडेर हिँडियो,’ उनले भने, ‘हिँड्ने बाटो पनि नभएर भीरभीरै हिँड्नुपर्ने भएकाले धेरै समय लाग्दो रहेछ ।’
कतिपय ठूला सवारीसाधन रोशीको बाढीमै हेलिएर पार गराइ भकुण्डे निस्किए पनि साना गाडीका चालकले आँट गर्न सकेनन् । ‘कतिपय साथीहरू उद्धार हुने आसमा अझै सवारीसाधन कुरेर बसिरहनुभएको छ,’ झापाका चालक चेतप्रसाद मैनालीले दु:खेसो पोखे, ‘कतिपयले रोशीमा हेलिएर पार गराए । यस्तो सास्ती त जीवनमा कहिल्यै बेहोरिएको थिएन ।’ घरका जहान केटाकेटीसमेतले जसरी पनि फर्किनु भनेर रोइकराइ गर्न थालेपछि गाडी छाडेर हिँडेको उनले बताए । ‘सरकारले उद्धार गर्न नसके पनि सवारीसाधनको सुरक्षा गरिदिए मात्र पनि दसैंमा चिन्ता थपिने थिएन,’ मैनालीले भने ।
सिन्धुलीका यातायात व्यवसायी शिवराम खड्काको विद्युतीय गाडी पनि मंगलटारमा फसेको छ । वैकल्पिक तथा अस्थायी सडक निर्माणमा भएको ढिलाइले गर्दा सयौं गाडी उद्धारको पर्खाइमा बेवारिसे अवस्थामा रहेको उनले बताए । नेपालथोक–भकुण्डेबेंसी खण्डमा क्षत्विक्षत् भएको सडकमा सिन्धुलीको नेपालथोकबाट आँपघारी, बालुवा हुँदै काभ्रेको माम्तीसम्म चार किमि रोशी किनारबाट अस्थायी सडक निर्माण गरी बीचमा अड्किएका सवारीसाधनको उद्धार भइसकेको छ । माम्तीमा रोशीलाई तर्काएर सडक निर्माण गरी पुलबाट काभ्रेको मेच्छेपौवा हुँदै भकुण्डेबेंसी निस्कने सडकको काम भइरहेको स्थानीय मनीष रायमाझीले बताए । सोमबार बेलुकासम्ममा सडक सञ्चालनमा आउने गरी काम भइरहेको उनले सुनाए ।
