खुर्कोट (सिन्धुली) — सुनकोसी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा बेलिब्रीज हाल्ने प्रारम्भिक काम सेनाले सुरु गरेको छ । रामेछापतर्फको ५१ मिटर बगेकोमा बेलिब्रीज पुल हालेर यातायात संचालनका लागि प्रारम्भिक काम सुरु भएको सेनाले जनाएको छ ।
सिन्धुलीको गोलज्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतीनी जोड्ने १० वर्षअघि बनेको सुनकोसी नदीको १०० मिटर लम्बाइ रहेको पुलको ५१ मिटर भाग बाढीले बगाएको छ ।
बेलिब्रीजका लागि चाहिने सबै सामान सोमबार बेलुकासम्ममा आइपुगेको र मौसमले साथ दिएमा मंगलबार बिहानबाट जडानको काम सुरु हुने सेनाका प्राविधिकले जनाएका छन् ।
'मुख्य सामान आइसकेको छ । साना इकुपमेन्ट सोमबार रातिसम्ममा आइपुग्ने भएकाले मंगलबारबाट काम थालनी हुन्छ,' सेनाका प्राविधिक मेजर चिरन्जीवी चौलागाईंले भने, 'अहिले बत्ती जडानको काम भइरहेको छ, हामी राति पनि काम गरेर दसैँको टिकाको अघिल्लो दिनसम्ममा काम सक्ने प्रयासमा छौं।'
उनका अनुसार कामको रफ्तार बढाउन चाहिने सबै उपकरण जडान र व्यवस्थापन भइरहेको छ । पारी रामेछापतफ बेतीनीको पिल्लर प्रयोग गर्न मिल्ने नमिल्नेबारे प्राविधिक जाँच भइरहेको बेलिब्रीज निर्माणमा संलग्न १४ नं वाहीनीको पुल महाशाखाले जनाएको छ ।
रामेछापतर्फको पिल्लर मुनी केही बगाएकाले तारजाली भरेर सपोर्ट दिने काम सडकले अघि बढाएको छ । र्याफ्टिङ मोटरबोट प्रयोग गरेर सेनाका प्राविधिकहरु सुनकोसी नदी पार गरी रामेछापतर्फको पिल्लर चेकजाँच गरेका छन् ।
पिल्लरलाइ सपोर्ट दिने बगाएको सडक निर्माण सडक डिभिजनले गर्नेछ । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराइसँग जोड्न बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि सुनकोसी नदीको यो पुल बरदान सावित भएको थियो । बेलिब्रीज संचालनमा आएर दसैँको टिका थाप्न पुल वारपार सवारी साधन हुनेमा स्थानीय आशावादी छन् ।
