पहिले भूकम्प, अहिले बाढीले उठिबास

आश्विन २१, २०८१

ज्योती श्रेष्ठ

First the earthquake, now the flood

काभ्रे — रोशी खोलाको बगर छेउमा तीन घर गर्ल्याम्मै ढलेका छन् । भत्किएको घर हेर्दा स्थानीय ५५ वर्षीया जमुना बिकको मन भक्कानिन्छ । घरीघरी विपत्तिले आफूलाई घेरेको जस्तो उनलाई महशुस भएको छ । भूकम्पले दिएको चोट नसेलाउँदै उनको परिवारलाई बाढीले अर्को चोट थपिदिएको छ ।

 ९ वर्षअघि २०७२ मा भूकम्पले उनको घर लडायो । भूकम्पले लडाएको घर जसोतसो २/३ वर्ष लगाएर जमुनाको परिवारले उठाएको थियो । घर बनेको ४/५ वर्षमा अर्को विपत्ति आइलाग्यो ।

अघिल्लो साताको बाढीले उनको नयाँ घर लड्यो । ‘भूकम्पले घर लड्यो, बस्ने बास भएन,’ उनले भनिन्, ‘जसोतसो टहरामै बसेर २/३ वर्ष लगाएर नयाँ घर बनाइयो, सरकारले दिएको ३ लाख रुपैयाँले मात्र घर नबन्ने रहेछ, ऋण खोज–खाज गरेर घर बनाएका थियौं, त्यो घर पनि अब रहेन ।’

जमुनाका ३ छोरा छन् । जेठा र माइला छोराले छुट्टा–छुट्टै दुई वटा घर बनाएका छन् । कान्छो छोराबुहारी, सासुससुरासहित जमुना र उनका श्रीमान् एउटा घरमा बस्दै आएका थिए । जमुनाका जेठा र माइला छोराले भूकम्पपछि दुई वटा घर बनाए । ‘यी घर पनि बडो सास्तीका साथ बनाएका थियौं,’ उनले भनिन्, ‘सरकारले दिने राहत पाउन पनि निकै मुस्किल भएको थियो, बल्लतल्ल राहत पायौं, अनि घर बनायौं ।’First the earthquake, now the flood

भूकम्पले विस्थापित गरेपछि नयाँ घर बनाएको जमुनाको परिवार अहिले बाढीले विस्थापित भएको छ ।

‘हामी दुःखीलाई नै विपत्तिले घरी–घरी घेर्दो रहेछ,’ उनले दुःख व्यक्त गर्दै भनिन्, ‘भूकम्पले घर लड्यो, बस्ने बास नभएपछि, नयाँ घर बनाइयो, यहाँ बसेको ४/५ वर्षमै यहाँ पनि बाढीले घर नै लडायो, अब त घर बनाउने ठाउँ पनि कहाँ बनाउने, कसरी बनाउने ?’ जमुनालाई अहिले यहिँ चिन्ताले सताएको छ । उनका अनुसार यहाँ भएको ५ रोपनी जग्गा पनि बाढीले सबै लग्यो, जग्गाको नाम–निसाना केही बाँकी नै छैन ।

‘बालीनाली केही रहेन के खाने, के गर्ने ? ठूलो परिवार छ । अहिले पाएको राहतले केही दिनलाई त पुग्ला,’ उनले भनिन्, ‘सुत्केरी बुहारी, रोगी सासुससुरा, अपांग छोरा छ । दुई–चार दिन त यहीँ बसौंला, सधैं यहाँ बस्न सकिँदैन, घर बनाउन न ठाउँ छ न पैसा ।’

१० दिनदेखि उनीहरु घरभन्दा माथिको डाँडामा रहेको पाटीमा बस्दै आएका छन् । ‘२० दिनकी सुत्केरी बुहारी र बच्चालाई तेल लगाउँदै थिए,’ घटना बारेमा बताउँदै उनले भनिन्, ‘पानी परिरहेकाले मौसम चिसो–चिसो नै थियो, एक्कासी भूकम्प आएको जसरी घर थर्थरी हल्लिन थाल्यो, हामी सबैले भूकम्प आयो भन्ने लाग्यो, झ्यालबाट हेर्दा त खोलाले ठूला–ठूला बगाएर ल्याउँदा, ठोक्किएर आएको आवाज रहेछ, खोलामा पनि पानी पनि बढ्दै गएपछि, अब यहाँ बसेर हुँदैन भनेपछि, घरबाट सबै एक–एक गरी निस्कियौं, काखमा १७ दिनको नातिनी छ, सुत्केरी बुहारी हिँड्न सक्दिनन्, ८०/९० वर्षका सासुससुरा छन्, अपाङ्ग छोरा पनि छ, मुस्किलले खोला पार गर्‍यौं, त्यो बेला हामीलाई ज्यान बच्नु नै हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो भन्ने लागेको थियो, तर अहिले साता दिन बितेपछि भने घर–बार केही नहुँदा त निकै गाह्रो भइरहेको छ ।’

सडक सञ्चालनमा ल्याउनका लागि रोशी खोलामा डोजर चलाएको छ । खोलामा डोजरले माटो, ढुंगा पन्छाइरहेको छ । खोलाको छेउमा ढल्नै लागेका ४/५ वटा घर छन् । डोजर चल्दा आफ्नो घर पनि ढल्ने हो कि भन्दै नियाल्दै छिन्, स्थानीय धनमाया रसाइली ।

बाढीले उनको घर पनि पूर्णरुपमा क्षति भएको छ । उनले पनि घर बनाएको धेरै समय भएको छैन । त्यस्तै ५/७ वर्ष मात्रै भएको छ । उनले पनि भूकम्पको राहतमा नयाँ घर बनाएकी हुन् ।

‘भूकम्पले घर भत्किएपछि, हामीले यहाँ घर बनाएका थियौं,’ उनले भनिन्, ‘सरकारले दिएको ३ लाख रुपैयाँले पुरानो भत्किएको घर पन्छ्याउनै ठिक भयो, नयाँ घर बनाउन त्यति पैसा पुग्दैनथ्यो, ऋण खोजेर, सर–सापट मागेर बस्ने बास एउटा घर बनायौं, यहि बास पनि बाढीले सत्यानास पार्‍यो ।’

कहिले भूकम्प, त कहिले बाढीले आफूहरुलाई दुःख दिइरहेको उनले बताइन् । ‘एउटा घाउ निको नहुँदै अर्को घाउ लाग्यो,’ उनले भनिन्, ‘कत्ति दुःखले बनाएको थियौं, दिनरात नभनी, मिहेनत गरेर घर बनाएका थियौं, बाढीले ध्वस्तै पार्‍यो, बस्नै मिल्दैन त्यो घरमा, अब कहाँ बस्ने, कसरी बस्ने भन्ने त्यहीँ चिन्ता छ ।’

सम्पत्ति र सहाराको नाममा भएको एउटा घर पनि बाढी पसेर क्षतविक्षत भएपछि स्थानीय ज्ञानु बिक अहिले एक्लिएकी छिन् । परिवारमा ४ छोरी र श्रीमान् भए पनि उनी अहिले एक्लै छिन् । छोरीहरुको विवाह भयो र श्रीमान्‌ले अर्को श्रीमती ल्याएपछि उनी रोशी बजारमा एक्लै बस्दै आएकी थिइन् ।

‘सहाराको नाममा यही एउटा घर थियो,’ उनले भनिन्, त्यो पनि बाढीले खत्तम बनायो, न कसैको साथ छ, न त बस्ने बास भयो, जाउ भने कहाँ जाने ? जाने ठाउँ कहिँ छैन, श्रीमान पनि सौतासँगै बस्नुभएको छ, छोरीहरुको बिहे भयो, एक्लो मान्छे के गर्ने, कसो गर्ने हुँदो रहेछ यो विपत्ति ।’ उनी अहिले छिमेकी जमुनाको परिवारसँगै पाटीमा बसिरहेकी छिन् ।

‘भएको घर पनि भूकम्पले ढलेको थियो,’ उनले भनिन्, ‘भूकम्पपछिको राहतमा थपथाप गरेर यहाँ घर बनाएका थियौं, त्यहीँ घर पनि बस्न नमिल्ने भयो अब, रोगी मान्छे, एक्लै छु, कसरी घर बनाउने हो अब, यहाँ बस्न पनि डर मर्दो छ, अन्त घर बनाउन सक्ने क्षमता पनि छैन, जग्गा–पैसा केही छैन, यही घर त जसो–तसो बनाएको थियो ।’

पनौती नगरपालिका–८ स्थित भालेश्वरदेखि रोशी बजारसम्म दर्जनौं घर बाढीमा परेर ढलेका छन् । अधिकांश घर भर्खरै बनेका देखिन्छन् । भूकम्पपछि बनाएका धेरै घरमा बाढी पसेर घर ढलेको स्थानीय बताउँछन् । भूकम्पले ढलेको घरलाई भर्खरै मात्रै उठाएका यहाँका स्थानीयले अहिले बाढीले क्षति बनाउँदा चिन्तित बनेका छन् ।

बाढी र पहिरोले विस्थापित भएका पनौतीको रोशी भूमिडाँडा, कलाँतीका स्थानीय अहिले सुरक्षित स्थानको खोजीमा पनौती बजारतिर बसाइँ सरेका छन् । स्थानीय काइली तामाङले भनिन्, ‘घरमा बाढी पस्यो, बस्ने बाँस छैन, खाने गाँस छैन, कसरी बस्ने यहाँ ? कहाँ बस्ने ? कतिन्जेल यहाँ बस्ने ?, त्यहीँभएर अब पनौतीमा कोठा खोजेका छौं, त्यहीँ बस्ने हामी अब ।’

असोज १० देखिको वर्षासँगैको बाढीपहिरो र डुबानबाट बढी प्रभावित जिल्लाका आधा दर्जनभन्दा बढी पालिकालाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । काभ्रेका रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

संकटग्रस्त क्षेत्र घोषणा गरिएको रोशी गाउँपालिकामा करिब ५ सय परिवार, बेथानचोक गाउँपालिकामा ६ सय परिवार, पनौती नगरपालिकामा करिब ७ सय परिवार विस्थापित भएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

संकटग्रस्त क्षेत्र घोषणा गरिएका ८ वटा स्थानीय तहका अधिकांश स्थानमा सडक बाटो, विद्युत, सञ्चारलगायतका सेवा अवरुद्ध हुँदा ती स्थानबाट यकिन विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । उनकाअनुसार पालिकाबाट यकिन विवरण नआएकाले कहाँ–कति क्षति भयो, कति विस्थापित भए भन्ने विवरण यकिन हुन सकेको छैन ।

पालिकाका कर्मचारीलाई विवरण माग गरिएको बताउँदै उनले भने, ‘हामीले सबै पालिकामा विवरण माग गरेका छौं, यकिन विवरण नभएकाले प्रभावितहरुलाई राहत वितरणमा पनि समस्या भएको छ, विस्तारै, बाटो, विद्युत, सञ्चार सेवा पुग्दै छ, चाँडै विवरण आउने विश्वास गरिएको छ ।’

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully