उद्धार नभएपछि गाडी छाडेर घर हिँडे चालक

आश्विन २१, २०८१

राजकुमार कार्की

After not being rescued, the driver left the car and walked home

नेपालथोक (सिन्धुली) — बीपी राजमार्गअन्तर्गत काभ्रेको मंगलटार नजिक कालढुंगामा १० दिन अघिदेखि अड्किएका झापाको दमकका इन्द्र खड्का उद्धार हुने छाँट नदेखेपछि पैदलै घरतर्फ फर्किएका छन् ।

हुन त उनी आफैँ चालक हुन् । यात्रु लिएर काठमाडौँ आउँदै गर्दा उनलाई रोशीखोलामा आएको बाढी र पहिरोले कालढुंगामा थुन्यो । बाढी र पहिरोले बीपी राजमार्ग क्षतविक्षत् बनाएको छ । १० दिनसम्म कुरेर बस्दा पनि उद्धार हुने सम्भावना नदेखेपछि उनी पैदलै घर फर्किएका हुन् । 

७ किलोमिटर भीर पहारा छिचोल्दै रोशी किनार भएर घरतर्फ जाँदै गरेका चालक खड्का रोशीको माम्तीनजिकै भेट्दा असिन पसिन थिए । भोकै प्यासै १० दिन आफ्नो हायस गाडी रुँघेर बिताएको उनले बताए । '१० दिन रुँघेर बसेँ । तत्कालै उद्धार हुने छाँटकाट देखिएन । गाडीको माया मारेर अब दसैँ मान्न घर जाँदैछु,' उनले भने ।

सानो खोला तारेर मंगलटार चौकी नजिक सुरक्षित स्थानमा सवारी राखौँ भन्दा पनि नसकेको उनले बताए । ‘मान्छे नै यही बसिरहे, कुन बेला के हुने ठेगान छैन । फेरि दसैँ पनि आयो । त्यही भएर माया मारेर चाबी लिएर हिँडे। हामीलाई उद्धार गर्न कोही आएन । नजिकै रहेको प्रहरी चौकीलाई जिम्मा लिइदिन भन्दा पनि वास्ता गरेनन्,' उनले भने । 

सरकारले केही यात्रुहरु हेलिकप्टरमार्फत उद्धार गर्‍यो भने कतिपय भिरपहरा छिचोल्दै ज्यान जोखिमा पारेर हिँडेरै गन्तव्यतर्फ गए । चालक र यहाँ फसेका सवारीहरू भने अझै पनि यही छन् । कतिपय कष्टपूर्ण यात्राका लागि निस्केका छन् ।  'कतिपय साथीहरु खोलाको धमिलो पानीले झाडापखालाका कारण सिकिस्त बिरामी परेका छन्, यसैगरी बसिरह्यो भने आफ्नै ज्यान जोखिममा पर्ने देखियो । त्यही भएर बाटो लागेँ,' उनले सुनाए । 

ट्रक चालक उदयपुरका अर्जुन दनुवारको कथाव्यथा पनि उस्तै छ । चौकीडाँडाभन्दा तल फसेका उनी ७ घण्टा हिँडेर माम्ती आइपुगेका थिए । 'सादाखानाको चारसय, एउटा चाउचाउको सय रुपैंयाँ तिरेर कति दिन गुजार्नु ? जे होला भनेर सवारी छोडेर हिँडियो,' उनले भने, ‘हिँड्ने बाटो पनि नभएर भीर पहरा पार गर्नु पर्ने भएकाले धेरै समय लाग्दो रहेछ ।’ 

कतिपय ठूला सवारी साधनहरु रोशीको बाढीबाटै पार गरेर भकुण्डे पुगेका छन् । तर साना सवारीहरुले आँट गर्न सकेका छैनन् । हृयूमपाइप हालेर पार गराउने भन्दै बेलाबेला खबर आएकाले सवारी साधन उद्धार हुने चालकहरुलाई झिनो आशा पलाएको थियो । तर १० औँ दिनसम्म त्यस्तो कुनै प्रयास नभएपछि आफूहरू निराश भएको उनले बताए ।

After not being rescued, the driver left the car and walked home

उद्धार गर्न सरकारको चासो नै नदिएको झापाका जम्बो हायसका चालक चेतप्रसाद मैनाली बताउँछन् । 'कतिपय साथीहरु उद्धार हुने आशले अझै पनि सवारी साधन कुरेर बसिरहनु भएको छ,' उनले भने, ‘कतिपयले रोशी तरेर पारि जानुभयो । यस्तो सास्ती त जीवनमा कहिल्यै बेहोरिएको थिएन ।’

घरका जहान केटाकेटीहरु समेतले जसरी पनि फर्किनु भनेर रोइकराइ गर्न थालेपछि छोडेरै हिंडेको उनको भनाइ थियो । 'सरकारले उद्धार गर्न नसकेपनि सवारी साधनको सुरक्षा गरिदिए मात्र पनि दसैँमा चिन्ता थपिने थिएन,' चालक मैनालीले भने, 'तर प्रहरीले त्यही पनि जिम्मा लिइदिएनन् ।'

बैंकको ऋणमा ५०औँ लाख खर्च गरेर किनेका सवारी साधन छोड्न नसकेर चालकलाई खर्च पठाइ रुघ्न राखेको सिन्धुलीका यातायात व्यवसायी शिवराम खड्काले बताए । उनको विद्युती गाडी मंगलटारमा फसेका छन् । 'रोशीमा बाढीबाटै तार्न सकिने अवस्था छैन । अस्थायी सडक बनाउन आग्रह गरिरहेका छौँ, तर सुनुवाइ भएको छैन,' उनले भने ।

After not being rescued, the driver left the car and walked home

नेपालथोक–भकुण्डेवशी खण्डमा क्षत्र विक्षत भएको सडकमा सिन्धुलीको नेपालथोकबाट आँपघारी, वालुवा हुँदै काभ्रेको माम्ती चार किलोमिटर रोशी किनारबाट अस्थायी सडक निर्माण गरी ती बीचमा अड्किएका सवारी साधनको उद्धार भइसकेको छ ।

माम्तीमा रोशीलाई तर्काएर अस्थायी सडक निर्माण गरी पुलबाट काभ्रेको मेच्छेपौवा हुँदै भकुण्डेवेशी निस्कने सडकको काम भइरहेको स्थानीय मनिष रायमाझीले बताए । सोमबार बेलुकासम्ममा सडक सञ्चालनमा आउने गरी काम भइरहेको उनले सुनाए ।

बाढी पहिरो

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully